देशभर मदिरामा प्रतिबन्ध लगाउन बाबा रामदेवको माग - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

देशभर मदिरामा प्रतिबन्ध लगाउन बाबा रामदेवको माग



एजेन्सी – योग गुरु बाबा रामदेवले भारतभरि मदिरा बनाउन, बेच्न र किन्न प्रतिबन्ध लगाइनुपर्ने बताएका छन् ।

त्यसका साथै उनले जनसंख्या वृद्धि रोक्नका लागि तेस्रो सन्तानलाई मतदान अधिकारबाट वञ्चित बनाउनुपर्ने बताएका छन् ।

‘भारतको जनसंख्या अबको ५० वर्षमा डेढ अर्बभन्दा बढ्नुहुँदैन किनकि हामी त्यसभन्दा बढी थाम्न सक्दैनौं । तर सरकारले कानून बनाएर तेस्रो सन्तानलाई मत दिन अनुमति नदिने, चुनाव लड्न नदिने र सरकारी सुविधाबाट वञ्चित गर्ने गरेमा मात्र जनसंख्या बढ्नबाट रोक्न सकिन्छ,’ रामदेवले बताए ।

उनले गोहत्यामा पूर्ण प्रतिबन्ध लगाउन समेत माग गरे अनि त्यसबाट मात्र गाई तस्कर र गोरक्षकहरूका बीचको द्वन्द्व रोकिने बताए ।

त्यसबाहेक उनले देशभरि मदिरामा प्रतिबन्ध लगाउनुपर्ने बताए ।

‘मुसलिम देशहरूका मदिरामा प्रतिबन्ध लगाइएको हुन्छ । त्यहाँ हुन्छ भने भारतमा किन हुँदैन ? यो सन्तहरूको भूमि हो । भारतभरि मदिरा प्रतिबन्धित गरिनुपर्छ,’ उनले भने ।

रामदेवले पतञ्जलि आयुर्वेद लिमिटेडका प्रबन्ध निर्देशक आचार्य बालकृष्ण यूएनएसडीजी स्वास्थ्य सेवामा १० सबभन्दा प्रभावशाली व्यक्तिको पुरस्कार जित्न सफल भएको विषयलाई गर्वका रूपमा लिनुपर्ने बताए ।

पतञ्जलि आयुर्वेदले आयुर्वेदको प्रविधि प्रयोग गरेर बनाइएका औषधि तथा अन्य वस्तु उत्पादन गर्ने गरेको छ । बाबा रामदेवले बालकृष्णसँग मिलेर कम्पनी खोलेका हुन् ।