रामदेवलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

रामदेवलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग



काठमाडौं- अहिले भारतीय योगगुरु रामदेव आलोचनाको केन्द्रमा छन् । उनले आधुनिक चिकित्साविरूध्द दिएको विवादास्पद अभिव्यक्तिले भारतीय स्वास्थ्य क्षेत्रमा हलचल एको छ ।

उनले दिएको विवादास्पद तिपनिकै कारण भारतीय डाक्टरहरूले उनको चर्को विरोध गरेका छन् । केही दिनअघि रामदेवले आधुनिक चिकित्सा र औषधोपचारका कारण कोभिडका लाखौं संक्रमितको मृत्यु भएको बताएका थिए ।

रामदेवले आधुनिक चिकित्सा र औषधोपचारका कारण कोभिडका लाखौं संक्रमितको मृत्यु भएको बताउँदै अक्सिजन सिलिण्डरको खोजी गर्दै हिँडेका बिरामी र तिनका आफन्तको खिल्ली उडाएका थिए ।

भारतीय स्वास्थ्य मन्त्रीले रामदेवको भनाई वाहियात भएको बताएपछि उनले आफ्नो अभिव्यक्ति फिर्ता लिएका छन् । अभिव्यक्ति फिर्ता लिएपनि भारतीय डाक्टरहरूले उनलाई पक्राउ गर्न माग गरेका छन् । उनले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै महामारीमा खटिएका डाक्टरहरू आक्रोशित बनेका छन् ।

आइतबार रामदेवले ट्वीटमार्फत विवादास्पद अभिव्यक्ति फिर्ता लिए पनि सोमबार उनले फेरि आधुनिक चिकित्साले मधुमेह र उच्च रक्तचापलगायत २४ वटा रोगको उपचार गर्न नसकेको भन्दै इण्डियन मेडिकल एसोसिएशनलाई पत्र नै पठाएका थिए ।

त्यसपछि डाक्टरहरू उनीप्रति झनै फायर भएका छन् । डाक्टरले जवाफ फर्काउँदै भनेका छन्, ‘योगगुरु भएकाले योगामा ध्यान दिनुहोला । औषधोपचारको जिम्मा डाक्टरहरूलाई छाड्नुहोस् ।’

कतिपय डाक्टरले रामदेवलाई तत्काल पक्रेर कारबाही गर्नसमेत माग गर्दै सामाजिक सञ्जाल भरेका छन् ।