रामचन्द्र र शशांकले बनाए कांग्रेसमा नयाँ समूह
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र शशांक कोइरालाले छिट्टै समूह बनाउने भएका छन् । सभापतिको दौडमा आफ्नै समूहका शेखर कोइरालालाई धोका दिएका पौडेल र कोइरालाले नयाँ समूह बनाउने तयारी गरेको बताइएको छ ।
शेखर नयाँ नेतृत्वको रूपमा उदाएपछि पौडेल र शशांकले यस्तो योजना बनाएका हुन् । यसको छनक पौडेलले आफूलाई भेट्न पुगेका नवनिर्वाचित उपसभापति धनराज गुरुङलाई समेत दिएका छन् ।
नवनिर्वाचित उपसभापति गुरुङले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न बिहिबार उनकै निवास बोहराटार पुगेका थिए । मतपरिणाम सार्वजानिकपछि गुरुङ पौडेललाई भेट्न उनको निवास बोहोराटार पुगेका हुन् ।
पौडेलले गुरुङलाई बधाई दिँदै पार्टीलाई एकताबद्ध बनाउने र विधिसम्मत चलाउने काम गर्न सुझाव दिए । उनले आफू पनि पार्टीलाई नयाँ गति दिन आम चुनावमा विपक्षसँगको प्रतिस्पर्धा अब्बल बनाउन लाग्ने बताएका छन् ।
पौडेलले आफू र निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले पार्टीलाई एकताबद्ध बनाउने र पार्टीभित्र सद्भाव कायम गर्ने अभियान थालिसकेको पनि जानकारी गराएका थिए । उपसभापति गुरुङले पार्टीलाई गुटबन्दीबाट मुक्त बनाउने अभियानमा लाग्ने वचन दिए ।