रामचन्द्रले भने - गठबन्धन टुट्दैन, एक्लै चुनाव लड्न सकिन्न - Himal Post Himal Post
  • ३ माघ २०८२, शुक्रबार
  •      Fri Jan 16 2026
Logo

रामचन्द्रले भने – गठबन्धन टुट्दैन, एक्लै चुनाव लड्न सकिन्न



काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान समयमा गठबन्धनविरुद्ध जानु कांग्रेसका लागि हितकर नहुने बताएका छन् ।

नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले बिहीवार दमौलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वरिष्ठ नेता पौडेलले कांग्रेसले एक्लै लड्ने आत्मविश्वास भने राख्नुपर्ने बताए ।

‘कांग्रेसले एक्लै चुनाव लड्छौं भनेर मात्र हुँदैन, कम्युनिस्ट एकता कायम गराउन बाध्य पार्नु हुँदैन,’ उनले भने, ‘एक्लै लड्ने आत्मविश्वास भने राख्नुपर्छ ।’

कांग्रेस विगतमा पनि एक्लै लडेको चर्चा गर्दै उनले परिस्थितिअनुसार अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताए । ‘समावेशिताका कारण एउटै पार्टीको बहुमत आउने अवस्था छैन, तालमेल गरेर कांग्रेसलाई ठूलो पार्टी बनाउनुपर्छ,’ उनले भने ।

कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले देशभर भएका विकासको काम कांग्रेसले गरेको बताउँदै जनतालाई यसबारेमा बुझाउन आवश्यक रहेको बताए । भएका गल्ती कमजोरी सुधार्दै अगाडि बढ्नुपर्ने बताउँदै उनले कांग्रेसभित्र हातेमालो र हार्दिकता सिर्जना गर्नुपर्ने जोड दिए ।

चुनाव जित्ने नाममा गठबन्धन गर्न आवश्यक नरहेको भन्दै उनले कांग्रेसले एक्लै चुनाव जित्ने दाबी गरे । केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेस एकआपसमा मिले मात्र निर्वाचन जित्न सकिने बताए । क्षेत्रीय सभापति श्याम मौरातीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यद्वय गोविन्द भट्टराई, ध्रुव वाग्ले, निवर्तमान जिल्ला सभापति वैकुण्ठ न्यौपाने लगायतले बोलेका थिए ।