राजनीतिबाट सन्यास लिने घोषणा गरेका रामचन्द्रको दौडधुपको रहस्य के हो ? - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

राजनीतिबाट सन्यास लिने घोषणा गरेका रामचन्द्रको दौडधुपको रहस्य के हो ?



काठमाडौं- राजनीतिबाट सन्यास लिने सम्म घोषणा गरेका नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल रहस्यमय तरिकाले सक्रिय बनेका छन् । उनले पार्टीभित्र आफूनिकटस्थलाई मात्र नभई अर्को दलका नेतालाई समेत भेट्न थालेका छन् ।

पौडेलले काँग्रेसको १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने प्रयास गरेका थिए । तर, उनकै समूहमा सहमति नजुटेपछि ब्याक भए । त्यसपछि कसैलाई साथ नदिएर तटस्थ बसे । महाधिवेशनमा सभापतिको चुनाव हुनुको अघिल्लो दिन पौडेललाई शेरबहादुर देउवाले भेटे । त्यो भेटमा राजनीतिक लेनदेन भएको आशंका भएको थियो ।

पौडेलले तटस्थ बसेपनि आफ्ना केही विश्वासपात्रलाई चुनाव जिताउन सके । सभापतिमा देउवा जितेलगत्तै बागमती प्रदेशमा निकटस्थलाई मन्त्री र राष्ट्रियसभामा दुई जना आफ्ना विश्वासपात्रलाई उम्मेदवार बनाउन सके । पौडेलले पार्टीभित्र एकपछि अर्को लाभ लिइरहेको देखिदैछ ।

२१ पौषमा पौडेल अचानक बालकोट पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटे । ओलीको कटु आलोचक पौडेलको बालकोटको भेट अर्थपूर्ण रहेको छ ।

उनले प्रधानमन्त्री देउवासँग सल्लाह गरेर ओलीलाई भेटेको बुझिएको छ । संसद खुलाउनेबारे कुरा गरेको भनेपनि पौडेलले केही गम्भीर कुराकानी गरेको बुझिएको छ ।

२२ पौषमा पौडेल सत्ता गठबन्धनको राजनीतिक समन्वय समितिको बैठकमा सहभागी भए । उनी समितिका संयोजक छन् । राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवारलाई जिताउन प्रदेशहरुमा पनि संयन्त्र बनाउने निर्णय भयो । यसरी पौडेलको सक्रियता ह्वात्तै बढेको छ ।

काँग्रेसभित्र दोस्रो वरियतामा पौडेल छन् । देउवाले इतर समूहको नेतामा उनैलाई मान्यता दिएर व्यवहार गरिरहेका छन् । डा. शेखर कोइरालाले दोस्रो ठूलो गुट चलाउन खोजेपनि त्यसलाई रोक्न देउवाले पौडेललाई नै भागवण्डामा निश्चित कोटा दिन थालेका छन् । यसले पनि इतर समूहका नेताहरु पौडेलसँग ढल्कदै जाने अवस्था विकास भएको छ ।

तीन तहको निर्वाचनमा पनि देउवाले इतर समूहमा पौडेललाई नै मान्यता दिएर टिकट बाँडफाँड गर्ने रणनीति बनाइसकेको बुझिएको छ । यसले पौडेललाई विगतमा जस्तै गुटको नेतृत्वकर्ता बनाउने अवस्था विकास हुने देखिदैछ ।