गठबन्धनको औचित्यमाथि प्रश्न उठेको छ - रामचन्द्र पौडेल - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

गठबन्धनको औचित्यमाथि प्रश्न उठेको छ – रामचन्द्र पौडेल



सत्तारुढ दलहरूको उच्चस्तरीय समन्वय समितिका संयोजक एंव नेपाली कांग्रेसका रामचन्द्र पौडेलले मुलुकमा जारी राजनीतिक गतिरोधको निकास नखोजे सत्तारुढ गठबन्धनको औचित्यमाथि प्रश्न उठ्ने बताएका छन् ।

सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरूको प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको बैठकमा पौडेलले उक्त कुरा राखेका हुन् ।

मुलुकमा राजनीतिक गतिरोध गहिरिँदै गएको अवस्थामा गठबन्धनमा रहेका दलहरूले समाधान खोज्नुपर्ने पौडेलले बताएका हुन् ।

‘आज देशमा संसद चलेको छैन । सर्वोच्च अदालतमा गतिरोध कायमै छ । राष्ट्रिय महत्त्वका विषयमा गतिरोध कायमै छ । राज्य सञ्चालनमै गतिरोध देखिएको छ । सरकार संसद्‌मा एउटा कानुन पास गराउन सक्ने अवस्थामा छैन । कानुन संशोधन गर्नसमेत सरकारले नसकेको अवस्था छ,’ उनले भने, ‘अहिलेको राज्य व्यवस्थालाई नै असफलतातर्फ लैजाने प्रयासहरू क्रियाशील भइरहेको देखिन्छ । यस्तो अवस्थामा यो गठबन्धन गम्भीर नहुने हो भने, निकास नखोज्ने हो भने गठबन्धनको औचित्यमाथि पनि प्रश्न उठ्न सक्छ ।’

सत्तारुढ गठबन्धको बैठकले शनिबार साँझ नै फेरि कानुन व्यवसायीसँग स्थानीय तहको निर्वाचनबारे छलफल गर्ने भएको छ । गठबन्धन दलको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचनबारे छलफलको प्रस्ताव राखेका थिए । कानुन व्यवसायीहरूसँग छलफल गरेर साँझ ४ बजे गठबन्धनको बैठक बस्न लागेको हो ।

स्थानीय तहको निर्वाचन वैशाखमा गर्ने कि कानुन संशोधन गरेर असोज पछि गर्ने भन्ने विषयमा सत्ता गठबन्धनमा रहेका राजनीतिक दलका नेताहरूबीच मतभेद रहेको छ ।