रामचन्द्रको नजरमा कांगेस: गठबन्धन नभए कांग्रेस केहि होइन - Himal Post Himal Post
  • ३ माघ २०८२, शुक्रबार
  •      Fri Jan 16 2026
Logo

रामचन्द्रको नजरमा कांगेस: गठबन्धन नभए कांग्रेस केहि होइन



पोखरा। सत्तामा रहेको पाँचदलीय गठबन्धन टुट्ने/नटुट्ने भन्ने बहस चलिरहेको बेला नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

गृहप्रदेश पोखरामा आइबार नेपाली कांग्रेसको गण्डकी प्रदेशको कार्यालय उद्घाटन गर्न आएका पौडेलले गठबन्धन गरेर मात्र चुनावमा कांग्रेसले उपस्थिति बलियो बनाउन सक्ने बताए।

“कांग्रेससँग ३० प्रतिशत मात्र जनमत छ। ७० प्रतिशत अरुसँग छ। ७० प्रतिशत हुनेसँग कांग्रेस एक्लै लड्छु भनेर भयो त,” उनले भने, “साथीहरूले भन्नुहुन्छ हामी त एक्लै लडिन्छ। ठिक छ एक्लै लडौं। त्योभन्दा पहिले क्षमता पनि बनाउन त। अहिलेको परिस्थिति एक्लै कांग्रेसले प्रधानमन्त्री बनाएको त होइन होला नि।”

राष्ट्रिय सभाको चुनाव सम्मलाई गठनबन्धन मात्र नभएको उनले प्रस्टाए। “सभाको चुनावपछि कांग्रेस इतिश्री हुनी हो त? कांग्रेसजस्तो पार्टीले चुनाव लड्नको लागि मात्र लड्नी हो कि जित्नको लागि पनि हो? यो बुझ्न जरुरी छ,” उनले भने, “जहाँ एक्लै जितिन्छ त्यहाँ एक्लै लडौं। तर हामी पनि कमजोर छौं उताको स्थिति पनि कमजोर छ भनेपछि दुईटा मिलेसी जितिन्छ भने किन नमिल्ने?”

उनले पार्टीका नेताहरूलाई नेपालको संविधान पढ्नको लागि अनुरोध गरे। “यो संविधानमा समावेशी व्यवस्था छ। यही प्रणालीको कारणले गर्दाखेरीमा अब्सुलुट मेजोरोटी भएको हो, नत्र कुनै पनि पार्टीलाई ल्याउन गाह्रो छ,” उनले भने, “गठबन्धन नहुने हो भने कुनै पनि पार्टीको बहुमत आउँदैन। अरूसँग मिलेर बहुमत ल्याउनुपर्छ। संयुक्त सरकारको संस्कृति विदेशतिर पनि छ। यो संस्कृति नेपाली संविधानले अनिवार्य गराएको छ नेपाली राजनीतिमा। त्यसकारण नेपाली नेताले संविधान पढ्न आवश्यक छ। त्यसै बोलेर क्रान्तिकरी र प्रगतिशिल र ताली खाएर हिँडेर हुँदैन।”

प्रदेशले अबको निर्वाचनमा यहाँका उम्मेदवार छनोट गर्ने काममा धेरै कठिन मेहनत गर्नुपर्ने उनले बताए। इमानदार प्रयास गरेर उम्मेदवार छनोट गरिनुपर्ने धारणा राखे।

कांग्रेस उपसभापती धनराज गुरुङले कांग्रेसले निष्ठाको राजनीति हराउँदै जान थालेकोतर्फ सचेत रहनुपर्ने बताए। उनले पार्टीका अग्रज नेताहरूका विचार र सिद्धान्तलाई भुल्न नहुने बताए।

गण्डकी प्रदेशको कार्यालय पोखरा-३ तेर्सापट्टीमा स्थापना गरिएको छ। पार्टी कार्यालयको स्थापनासँगै संस्थागत रूपमा पार्टीका कामहरूलाई अघि बढाउन सहज हुने गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले बताए।