देउवाले दिए सरकारको जिम्मा रामचन्द्रलाई
काठमाडौँ – सत्तारुढ पाँच दलीय गठवन्धनले सरकारलाई सघाउन ११ सदस्यीय समन्वय समिति गठन गरेको छ । समितिमा पाँचवटै दलका दुई, दुई जना प्रतिनिधि रहेका छन् ।
गठबन्धनको सोमबार बसेको बैठकले सो समिति गठन गरेको बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । समितिमा ११ जना सदस्य रहने र उनीहरूमध्ये तीन जनाको नाम टुंगो लाग्न बाँकी रहेको कार्कीले जानकारी दिए ।
केन्द्रीय सरकारको नेतृत्व गरिरहेको मुख्य दल नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र कृष्ण सिटौला समितिमा छन् । यस्तै नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल सदस्य छन् । माओवादीबाट रहने अर्का सदस्यको नाम टुंगो लागिसकेको छैन ।
गठबन्धनमा रहेको अर्को दल नेकपा एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष माधव नेपाल सदस्य छन् भने सो पार्टीले पनि अर्को सदस्यको टुंगो लगाइसकेको छैन ।
यस्तै जनता समाजवादी पार्टी, नेपाल (जसपा)बाट अध्यक्ष उपेन्द्र यादव सदस्य छन् भने अर्का सदस्य तोक्न बाँकी छ । गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य छन् । समितिमा सरकारका तर्फबाट मन्त्री कार्की छन् ।
मन्त्री कार्कीले आसन्न राष्ट्रिय सभाको चुनाव, उपचुनावलाई ध्यानमा राखेर साथै सरकारका काममा सघाउन समिति बनाइएको बताए । समितिमा प्रधानमन्त्री शेरबहादुर देउवा सदस्य छैनन् ।
तर यो समितिको हरेक बैठकमा देउवाको पनि उपस्थिति रहने कार्कीले जानकारी दिए ।