देउवाबाट लोकतन्त्र खतरामा पर्यो, सत्ता र शक्तिको दुरुपयोग गरे: रामचन्द्र
काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेको बताएका छन् । उनले सत्ताको बलमा देउवाले पार्टी कब्जा गर्न खोजेको समेत आरोप लगाएका छन्।
सिन्धुपाल्चोक सम्पर्क समितिले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नीति र विधि बिर्सेर देउवा पार्टी कब्जा गर्ने बाटोमा अगाडि बढेको बताएका हुन्। ‘लोकतन्त्रलाई धरापमा पार्ने काम नेताहरूबाटै भएको छ,’ उनले भने, ‘पदलिप्सा र जति भए पनि नपुग्ने नेताहरूको महत्वाकांक्षाले लोकतन्त्रमाथि खतरा आउने गरेको छ।’
नेता थरिथरिका हुन्छन् भन्दै उनले अन्धभक्ति छोडेर स्वतन्त्रतापूर्वक नेतृत्व छान्नुपर्नेमा जोड दिए।
‘नेता थरीथरीका हुन्छन्। महात्मा गान्धी पनि नेता थिए र हिटलर पनि नेता नै थिए। गान्धीको चरित्र हेरौं र हिटलरको चरित्र हेरौं’ उनले भने, ‘हाम्रै नेपालमा पनि नेताले कसरी सत्ता र शक्तिको दुरूपयोग गरेर आफ्नो स्वार्थ र पदलोलुपत्का लागि समाजलाई गलत दिशातर्फ लग्दैछन्। सोच्ने बेला आइसकेको छ।’
कार्यकर्ताले नेताको मूल्याङ्कन गर्न नसके नेता अधिनायकवादतर्फ अगाडि बढ्ने जोखिम हुने उनले बताए। सभापति देउवाले पार्टीको विधान, सिद्धान्त र पद्धतिलाई लत्याएर विनाकारण महाधिवेशन लम्ब्याउने काम गरेका छन्। नेतृत्वको लापारबाहीका कारण देशकै सबैभन्दा ठूलो पार्टी निर्वाचन आयोगसँग निहुरा गर्ने अवस्थामा पुगेको उनको जिकिर छ। नेताको महत्वाकांक्षा, सत्ता लिप्सा र कुर्सी लोभका कारण पार्टीको यस्तो अवस्था आएको पौडेलले बताएका छन्।
‘यो पद मेरै हो, कुर्सी बपौती हो नेतृत्वले ठानेको छ, नेतृत्व तानाशाही बनेको छ,’ उनले भने,‘आफ्नो पालो सकिएपछि सहज रूपमा अर्कोलाई नेतृत्व दिने लोकतन्त्रको परम्परा हुन्छ। तर, यहाँ तानाबाही हाबी भइरहेको छ।’ ‘गिरिजाबाबुले मलाई पहिलो राष्ट्रपति बन्ने प्रस्ताव गर्नुभएको थियो। लोकतन्त्रको लडाइँ बाँकी रहेको मैले उहाँको प्रस्ताव अस्वीकार गरिदिएँ,’ उनले भने,‘त्यो बेला मैले गिरिजाबाबुलाई भनेको कुरा आज देखियो नि। नेपाली कांग्रेस नै लोकतान्त्रिक हुनसकेको छैन।’
कुर्सीलाई आफ्नो प्याला सम्झ्ने नेताबाट लोकतन्त्रमाथि खतरा रहेको उनले बताए। अधिवेशनमा धाँधली भइरहेको छ, दादागिरी भइरहेको छ, धाँधली र प्रपञ्चबाट पार्टीलाई जोगाउनुपर्ने उनको भनाइ थियो। सभापतिको गृहजिल्लामा पार्टीका नेताहरूलाई किनारा लगाएर तथाकथित वडा अधिवेशन भएको छ भन्दै आफूहरूले त्यसलाई नमान्ने उल्लेख गरे। ‘पार्टीभित्र धाँधली गरेर कब्जा गर्ने दुस्हास गरिएको छ, सभापतिकै जिल्लामा क्रियाशील सदस्यतामा बेइमानी भएको छ,’ उनले भने,‘सत्ताको दुरूपयोग गरेर गरिएको वडा अधिवेशन हामी मान्दैनौं।’
उनले पार्टीमा पुस्तान्तरणको नभएर रूपान्तरणको आवश्यक्ता रहेको बताए।