रामचन्द्रले भने: सरकार पुरै असफल - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

रामचन्द्रले भने: सरकार पुरै असफल



प्रमुख प्रतिपक्ष दल काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार पूर्णतः असफल भएको दाबी गरेका छन् । वरिष्ठ नेता पौडेलले ६ महिना नपुग्दै सरकार असफलसिद्ध भईसकेको दाबी गरे ।

उनले सरकारले एउटा पनि उल्लेख्य काम नगरेको पनि बताए । नेता पौडेलले सरकारले न्यायपालिकामा समेत हस्तक्षेप गरेको भन्दै आपत्ति जनाए । शिक्षा, स्वास्थ्य, विद्युत, रोजगारीजस्ता जनताको आधारभूत विषयमा पनि सरकार गम्भिर नभएको उनको आरोप छ ।

बिहीबार पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले काठमाण्डुमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले सरकारले सरुवा, बढुवामा समेत एकलौटी निर्णय लिएर सर्वसत्तावादी सोच देखाएको तर्क पनि गरे । उनले महंगी बढाउने, कर बढाउनेलगायतका जनताविरोधी कामबाहेक सरकारले अरु केही गर्न नसकेको पनि बताए ।

कार्यक्रममा बोल्दै काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले प्रधानन्यायाधिशमा प्रस्तावित दिपकराज जोशीलाई अस्विकृत गरेर स्वतन्त्र न्यायपालिकामाथि गम्भिर प्रहार गरेको आरोप लगाए । उनले सरकार संवैधानिक तवरबाटै सत्ता कब्जाको बाटोमा अघि बढिरहेको दाबी गरे ।

प्रमुख सचेतक खाँडले सरकार जनहित विरोधि काममा लागेकाले त्यसको विरुद्धमा सशक्त ढंगले अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध हुन आह्वान गरे ।