एक ‘इमान्दार’ कार्यालय सहयोगी : रामभरोसा - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

एक ‘इमान्दार’ कार्यालय सहयोगी : रामभरोसा



-प्रकाश मिश्र/सुख्खड

सामान्यतयाः एउटा जागिरे जीवन २० वर्षे सेवामा सकिन्छ, तर कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० मा अवस्थित श्री कान्ति राज्य लक्ष्मी उच्च माध्यमिक विद्यालयमा निरन्तर तीन दशकदेखि कार्यालय सहयोगीका रुपमा हुनुहुन्छ, रामभरोसा चौधरी । वि.सं. २०२२ माघ १३ गते जन्मिएका वाहा  २०४६ असार १ गतेदेखि कार्यालय सहयोगीका रुपमा निरन्तर कार्यरत हुनुहुन्छ । तत्कालीन अवस्थामा सोही विद्यालयमै अध्यनरत रामभरोसा कमजोर आर्थिक अवस्थाका कारण कक्षा ५ को परीक्षा दिएपछि स्कुल जान सक्नुभएन । एक अब्बल विद्यार्थी परीक्षामा पास भइसकेपछि किन विद्यालय आउन सकेन भनेर तत्कालीन प्रधानाध्यापक नरेन्द्र ठाकुरले सोधपुछ गर्नुभयो । चौधरीले आर्थिक अवस्था कमजोर भएको बताएपछि प्रअ ठाकुरले जुक्ति निकाल्नु भयो । साँझ बिहान विद्यालय सरसफाइ गर्ने र दिनभर पढ्ने । सरसफाइ गरेबापत उहाँलाई विद्यालय व्यवस्थापन समितिले तलब पनि तोक्यो । प्रअ र विद्यालय व्यवस्थापन समितिको निर्णयले चौधरी हौसिनुभयो । सोही समयदेखि चौधरी निरन्तर विद्यालय आई साँझ बिहानको काम सकेर पढ्न थाल्नुभयो ।

तलब एक सय रुपैयाँ !

रामभरोसाले जब २०४६ सालबाट कार्यालय सहयोगीको रुपमा काम गर्न थाल्नुभयो । उहाँलाई मासिक एक सय रुपैयाँ दिनेगरी कार्यालय सहयोगीमा राखियो । ‘आर्थिक अवस्था निकै कमजोर भएको अवस्थामा पाएको जागिर निकै महत्वपूर्ण थियो,’ उहाँले विगत सम्झँदै भन्नुभयो,‘हामी गरिबीको चपेटामा थियौँ, त्यतिबेलाको समयमा पनि सबै किनेर खानुपर्ने, ठूलो परिवार पाल्नुपर्ने समस्यामा काम पाउँदा निकै मद्दत पुगेको थियो ।’ उतिबेलाको एक सय रुपैयाँ तलबले घरपरिवार चलेको सम्झना स्मरण गर्दै उहाँले भन्नुभयो, ‘अहिले त १८ हजार रुपैयाँ मासिक तलब छ, महँगीले घरखर्च धान्नै धौ धौ पर्छ ।’

शिक्षकका पनि शिक्षक रामभरोसा

रामभरोसाले जब २०४६ सालमा कार्यालय सहयोगीका रुपमा विद्यालयमा काम गर्न सुरु गर्नुभयो, त्यो बेला शिक्षक अभाव थियो । विद्यालयमा कक्षा अनुसारका शिक्षक नभएपछि उहाँ खाली रहेको कक्षामा पढाउनुहुन्थ्यो । ‘साँझ बिहान विद्यालय सरसफाइ गर्ने र कक्षा कोठामा शिक्षक नभएक बेला विद्यार्थीलाई म आफैले पढाउँथेँ,’ उहाँले विगत सम्झँदै भन्नुभयो,‘त्यो बेला प्राथमिक तहमा पढाएका विद्यार्थी अहिले मेरै विद्यालयमा शिक्षक छन्, म कार्यालय सहयोगीकै भूमिकामा यथावतै छु ।’ सोही विद्यालयमा अहिले अध्यापन गराइरहनु भएका गोविन्द शर्मा, महेन्द्रमणि मिश्रलाई रामभरोसाले पनि पढाउनुभएको हो । ‘मैले महेन्द्रमणि र गोविन्द सरलाई सानो कक्षामा पढाएको हुँ, अहिले उहाँहरु यही पढाउनुहुन्छ,’ रामभरोसाले भन्नुभयो ।

छोराछोरीसँगै एसएलसी

पढाइलाई उमेरले छेक्दैन भन्ने उदाहरण बनेका छन् रामभरोसा । आर्थिक अवस्था कमजोर भएका कारण पढाइसँगै कार्यालय सहयोगीका रुपमा काम गर्न सुरु गर्नुभएका रामभरोसाले आफ्ना छोराछोरीसँगै एसएलसी परीक्षा पनि दिए । तर, उहाँ सफल हुनुभएन । परीक्षामा आपूलाई असफलता मिलेपनि उहाँ खुसी नै हुनुभयो । ‘बूढो उमेरमा परीक्षा दिएँ, फल भइन, तर पनि उत्साह भने कायमै रह्यो,’ उहाँले भन्नुभयो । ‘छोरा रामनारायण र छोरी उर्मिलासँगै परीक्षा दिँदा आफू असफल भएपनि छोराछोरी पास भएपछि आफू असफल भएको भन्दा आनन्द छोराछोरी सफल भएकोमा पाएको उहाँ बताउनुहुन्छ । उहाँलाई धेरैले जिस्काए, छोराछोरीसँगै परीक्षा के दिनुपरेको होला भने, तर आफ्नो मनमा पढ्ने चाहना अझै बाँकी रहेको रामभरोसाले बताउनुभयो । ‘त्यसैले मैले कसैले भनेको केही सुनिन,’ उहाँले भन्नुभयो,‘त्यसैले आफ्नै हिसाबले काम गर्न लागे परीक्षा पनि दिएँ ।’

विद्यालयका पुराना कर्मचारी रामभरोसा

कान्ति राज्य लक्ष्मी उच्च माध्यमिक विद्यालयमा अहिले १६ शिक्षक ५ शिक्षिका एक लेखापाल र रामभरोसासहित २ कार्यालय सहयोगी छ्न । रामभरोसा विद्यालयमा भएका कार्यारत सबैभन्दा पुराना कर्मचारी हुनुहुन्छ । आफूलाई सबैले सम्मानपूर्ण व्यवहार गर्ने गरेको रामभरोसाले बताउनुभयो । उहाँले भन्नुभयो,‘कार्यालय सहयोगी जस्तो नभएर मलाई अरु सरहरुले आफू सरह नै व्यवहार गर्नुहुन्छ, मैले पनि सकेजति सेवा गर्छु ।’ सबैभन्दा पुराना कर्मचारी भएका कारण पनि रामभरोसा सबैका प्यारा भएको विद्यालयका शिक्षक सूर्यमान सिंहले बताउनुभयो ।

शिक्षकका नजरमा रामभरोसा

श्री कान्ति राज्यलक्ष्मी उच्च माध्यमिक विद्यालयमा २०५७ मा निजीश्रोतमा शिक्षकका रुपमा काम गर्न सुरु गरेका उमाकान्त मिश्र अहिले प्राचार्य छन् । आफू आउनेबेला पनि रामभरोसालाई कार्यालय सहयोगीका रुपमा देखेका उहाँले अहिले प्राचार्य हुँदा पनि रामभरोसा कार्यालय सहयोगी नै रहेको उहाँ बताउनुहुन्छ । ‘रामभरोसा एक इमान्दार कर्मचारी हुनुहुन्छ, लोभ लालच केही छैन,’ उहाँले भन्नुभयो,‘मेरो नजरमा निष्ठावान, इमान्दार, मेहनति व्यक्ति हुनुहुन्छ रामभरोसा ।’ रामभरोसाको सम्मानपूर्वक व्यवहार, नियमितता र विगतका समयमा शिक्षक अभाव हुँदा पढाएर विध्यालयलाई योगदान गरेका एक इमान्दार कार्यालय सहयोगीका रुपमा आफूले चिन्ने गरेको अर्का शिक्षक नरबहादुर देउवा बताउनुहुन्छ ।