पूर्व राष्ट्रपति यादवले भने: राष्ट्रपतिको कदम संविधानविपरीत
काठमाडौं- पूर्व राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्यादाअनुसार काम गर्न नसकेको भन्दै आफू मर्माहत भएको टिप्पणी गरेका छन् ।
उनले राष्ट्रपति संस्थाप्रति पहिलोपटक टिप्पणी गर्नुपरेको भन्दै यसबाट आफू मर्माहत भएको टिप्पणी गरेका हुन् । त्रिभुवन विश्वविद्यालयको ४६औं दीक्षान्त समारोहमा सम्बोधनको क्रममा पूर्व राष्ट्रपति यादवले भने, ‘प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले मलाई मर्माहत भएको छु ।’
‘राष्ट्रपति संस्थामाथि पनि देशले प्रश्न उठाएको छ, यो संस्था देशको अभिभावक हो,’ उनले अगाडि थपे, ‘उहाँ आफ्नो भूमिका निर्वाह गर्नमा चुक्नु भएको छ ।’
यो प्रक्रियामा प्रधानमन्त्री र राष्ट्रपतिको भूमिका राजनीतिक, संवैधानिक र नैतिकरुपमा अमिल्दो रहेको उनको टिप्पणी रहेको थियो । उनले अगाडि थपे, ‘नेपाली जनताले आशिर्वाद दिएर पुर्याएको संस्थाको विषयमा यसअघि मैले कहिल्यै पनि टिप्पणी गरेको थिएँ, आज अत्यन्त मर्माहत भएर यो कुरा भनिरहेको छ ।’
सम्बोधनको क्रममा उनले भने, ‘म मात्रै होइन, तीन करोड जनता मर्माहत भएका छन् । त्यो संस्थामा चोट पुगेको छ ।’
संसदबाट समस्याहरुको छिनोफानो गर्न सरकार चुकेको टिप्पणी गर्दै उनले सर्वोच्चले यी कुरामा ध्यान दिने र दिनै पर्नेमा विनम्र आग्रह पनि गरे ।