देउवाविरुद्ध उम्मेदवार छान्न पौडेल समूहको बैठक जारी
काठमाडौं- सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट नेताहरूको बैठक बोलाएका छन् बैठक राजधानीको एक होटलमा जारी रहेको एक नेताले जानकारी दिए ।
आगामी १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवार छनोट गर्न पौडेल पक्षको बैठक अहिले बसिरहेको बताइएको छ । पार्टीभित्रको आन्तरिक विवाद कायम रहेका कारण काँग्रेसले महाधिवेशन तालिका पटकपटक सार्दै आइरहेको छ ।
आजको बैठकमा नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु शेखर कोइरालालगायतका नेताहरु उपस्थित रहेका छन् ।
पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच विवाद बढ्दै गएको छ । केही दिन अगाडी नेता पौडेलले आफू पक्षीय जिल्ला सभापतिहरुको भेला आयोजना गरेका थिए ।
त्यस्तै पौडेलले समयमा नै महाधिवेशन गर्न नसके भदौ २३ पछि पार्टीको वैधानिकता सकिने तथा देउवालाई सभापति मान्न नसकिने चेतावनीसमेत दिएका थिए ।