राम माडीमै जन्मेका हुन्, भब्य मन्दिर बनाउनुस्: प्रधानमन्त्री ओली
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको माडी नगरपालिकाका प्रतिनिधिमण्डलसँग भेट गरेका छन्।
झण्डै दुई घण्टा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले पौराणिक कथा सुनाउँदै राम माडीको अयोध्यापुरी मै जन्मेको बताए । ‘रामको जन्भभूमि अयोध्यापुरी नै हो । त्यहाँ रामको भब्य मन्दिर बनाउनुस्’ माडीका जनप्रतिनिधिलाई प्रधानमन्त्री ओलीले भने, ‘त्यो क्षेत्रलाई अयोध्याधामकै रुपमा विकास गर्न मास्टर प्लान बनाएर पठाउनुुस् ।’
प्रधानमन्त्री ओलीले विसं २०७८ सालको दशैंमा मूर्ति अनावरण गर्ने गरी राम र सीताको मन्दिर बनाउन निर्देशन दिएको माडीका मेयरले बताए । तर यहाँ उत्खनन् गर्ने भन्दापनि शास्त्रीय मान्यतालाई नै आधार मानेर मन्दिर बनाउनुपर्ने उनले बताए ।
प्रधानमन्त्री ओलीले माडी नगरपालिकाको नाम परिर्वतन गरेर अयोध्यापुरी राख्नसमेत सुझाएका छन् । नगरसभामा सहमति जुट्छ भने नाम पनि फेर्न सुझाएको ढकालले स्वीकार गरे ।
साविकको अयोध्यापुरीमा पर्ने सो ठाउँबाट काठमाडौं आएका प्रतिनिधिहरुसँग ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ भेट गरेका हुन्।
प्रधानमन्त्री ओलीले पौराणिक पात्र श्रीरामको जन्मस्थल नेपालकै अयोध्यापुरीमा भएको र भारतमा रहेको अयोध्या त्यहाँ पछि विकास गरिएको भनी केहि सातापहिले बताएका थिए।
प्रधानमन्त्रीको सो धारणा सार्वजनिक भएलगत्तै प्रधानमन्त्री जस्तो व्यक्तिले पौराणिक विषयम पर्याप्त अध्ययन नगरी बोलेको भनी आलोचना भइरहेका बेला अयोध्यापुरीबाट आएका प्रतिनिधिसँग भेटघाट भएको हो।
अयोध्यापुरीका प्रतिनिधिसँग छलफलका क्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलसमेत उपस्थित थिए।