भाजपाका महासचिव नै सुटुक्क काठमाडौंमा, के पाक्दैछ खिचडी ? - Himal Post Himal Post
  • १३ पुष २०८१, शनिबार
  •      Sat Dec 28 2024
Logo

भाजपाका महासचिव नै सुटुक्क काठमाडौंमा, के पाक्दैछ खिचडी ?



काठमाडौं- सत्तारुढ गठबन्धनमा खटपट भएको चर्चाबीच भारतीय जनता पार्टीका महासचिव राम माधव पनि सुटुक्क आइपगेका छन्। पछिल्ला राजनीतिक घटनाक्रमबीच भाजपाका महासचिव भारतीय दूतावासलाई समेत जानकारी नदिएर नेपाल आएको खुलेको छ । राम माधव भाजपासम्बद्ध राष्ट्रिय स्वयंसेवक संघका राष्ट्रिय कार्यकारी सदस्य पनि हुन् ।

यसै महिना भाजपाका विदेश मामिला विभाग प्रमुख विजय चौथाइवा नेपाल आएर फर्किएका थिए । उनी आएको एक महिना नबित्दै अर्को उच्चस्तरीय भ्रमण हुनुलाई सामान्य मान्न सकिन्न । त्यसमाथि अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमार पनि चार दिने नेपाल भ्रमणमा भएका बेला उनी नेपाल आएका छन्

चौथाइवा ६ भदौमा काठमाडौं आएर चार दिनसम्म राजनीतिक भेटघाटपछि फर्किएका थिए । उनको भ्रमणपछि नेपालको राजनीतिमा केहि उतारचढाव देखिएको थियो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट सम्बन्ध रहेको भनिएका भाजपा नेता माधव राष्ट्रिय स्वयंसेवक संघका राष्ट्रिय कार्यकारी सदस्य हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीनिकट इन्डिया थिंक ट्यांक फाउन्डेसनका निर्देशक माधवको भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।

स्रोतका अनुसार उनको भ्रमणले एमसीसीदेखि सत्ता गठबन्धनसम्म फरक पार्न सक्ने देखिन्छ । एमसीसीबारे राजनीतिक दलहरु दुई ध्रुवमा बाँडिएका बेला गोप्य रूपमा भएको उनको भ्रमण सामान्य होइन । पछिल्लो समय दुई देशबीचको सम्बन्धमा चिसोपना बढिरहेको छ । भारतीय सुरक्षाकर्मीले तुइन काटिँदिएपछि नेपाली युवा जयसिंह धामी बेपत्ता भएयता नेपालमा भारतविरोधी जनभावना बढिरहेको अवस्था छ ।

एक महिना नबित्दै भाजपा नेताको यो दोस्रो उच्चस्तरीय भ्रमण नेपालको राजनीतिमा ठुलो प्रभाव पर्ने बताइन्छ । राम माधवले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार हुँदा २०७५ सालमा नेपालको भ्रमण गरकेा थिए। त्यतिबेला उनी निकै विवादित समेत बनेका थिए । उनको भ्रमणपछि नेपालको राजनीतिमा फरक दृश्य देखिएका थिए ।

राम माधवले ओली र देउवालाई भेट्ने निश्चित भैसकेको स्रोतले दाबी गरेको छ । त्यो बाहेक उनका केहि उच्चस्तरीय राजनीतिक भेटघाट तय भएको बताइएको छ ।