सुदूरपश्चिम प्रदेशले स्थानीय तहमा रकम पठायो, घोडाघोडीलाई करिब ३५ लाख

विशाल पाण्डेय/कैलाली
सुदूरपश्चिम प्रदेश सरकारले घोषित रकम राहत वितरणको लागि स्थानीय तहलाई पठाएको छ । गरीब, असहाय र विपन्नलाई प्रतिपरिवार ३ हजार रुपैयाँका दरले राहत दिने भनी प्रदेश सरकारको चैत २७ गते बसेको मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेको थियो ।
घोषणा गरेअनुसार प्रदेश सरकारले प्रदेशस्थित सबै स्थानीय तहलाई १६ करोड बजेट पठाएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
राहत वितरणको मापदण्ड अनुसार लकडाउनको अवधिभित्रै स्थानीय तहमार्फत राहत वितरण गर्नको लागि स्थानीय तहलाई रकम उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।
यसै क्रममा घोडाघोडी नगरपालिकालाई करिब ३५ लाख रकम प्राप्त भएको छ । घोडाघोडी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले प्रदेश सरकारबाट राहत वितरणका लागि करिब ३४ लाख ८० हजार रकम घोडाघोडी नगरपालिकाको खातामा आएको जानकारी दिए ।
उनले भने, ” यसघि पनि नगरपालिकाले १२ वटै वडामा दुई चरणमा राहत वितरण गरिसकेका छौँ , आवस्यकता अनुसार पुनः केही दिनभित्रै थप राहत वितरण गर्नेछौं ।”
कोरोना भाईरसको संभावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभावित भएका परिवारहरुलाई आवश्यकता अनुसारको राहत प्याकेज उपलब्ध गराउने अधिकृत सिंहले जानकारी दिए ।

