राज्यबाट सबभन्दा बढी दमन थारुमाथि :प्रचण्ड - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

राज्यबाट सबभन्दा बढी दमन थारुमाथि :प्रचण्ड



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यबाट सबभन्दा बढी दमन थारुमाथि भएको बताएका छन्। समुदायका हिसाबले जनयुद्धमा पनि सबभन्दा बढी थारु समुदायबाट बलिदानी भएको बताउँदै प्रचण्डले यस्तो भनेका हुन्।

जनयुद्धका क्रममा मारिएका तत्कालीन माओवादी नेता जोखन रत्गैंयाले सुरु गरेको थारु पत्रिका ‘मुक्तिक डगर’को पुनः विमोचन गर्दै प्रचण्डले थारुहरुको अधिकारका लागि संविधान संशोधन हुने प्रतिवद्धतासमेत व्यक्त गरे।

‘नेपालमा उत्पीडित वर्गको बलिदान नभएको भए हामी अहिलेको ठाउँमा पुग्न सक्ने थिएनौं। उत्पीडित जातिहरु जुन किसिमको अधिकार र पहिचान खोजेको हो त्यो स्तरको अझै प्राप्त भएको छैन। त्यसकारण हाम्रो आन्दोलन विभिन्न रुपमा अहिले पनि जारी छ,’ प्रचण्डले भने।

‘हामीले संविधान बनाएका छौं। संशोधनको एउटा प्रक्रियाबाट गुज्रेरमात्र पूर्णतातिर जान सक्छ। मैले दोस्रो पटक प्रधानमन्त्री सम्हाल्दा दुई पटक प्रयास गरेँ तर विभिन्न कारणले सफल हुन सकिनँ,’ उनले भने, ‘संविधान संशोधन गर्दै जाने दस्तावेज हो। अहिलेको संविधानको विशेषता के हो भने यसले संशोधनको ठाउँ खुल्ला राखेको छ।’

संविधानमा आफूहरुको पनि केही रिजर्भेसन रहेको बताउँदै उनले संविधान संशोधनबाट ती पूरा हुने जनाए।

थारु समुदायबाट आफूलाई मुक्तिका लागि अगाडि बढ्न प्रेरणा मिलेको बताउँदै उनले भने,‘विद्रोहको तयारी गर्दा हामीले मधेशबाट गर्यौं। विशेषतः धनुषाबाट गर्यौं। पश्चिममा बर्दिया कैलालीबाट पनि गर्यौ। अब विद्रोहमा जाने भन्ने कुरा थारुहरुको अगाडिबाट निर्णय गरेका थियौं।’

शहीद जोखन रत्गैंयाकी छोरी इन्दु चौधरीले सम्पादन गरी पत्रकाको पुनः सञ्चालन गरेकी हुन् भने पत्रकार मदन चौधरीले पत्रिकाको निर्देशक भएका छन्।