‘तानाशाही शैलीमा निषेधाज्ञा लगाएर राजधानी सार्न खोजियो’
बुटवल – प्रदेश नम्बर ५ को राजधानी दाङ सार्ने निर्णय सच्याउन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध पारेको छ ।
प्रदेशको राजधानी र नामाकरणको विषयमा छलफल गर्न बसेको सोमबारको प्रदेश सभा बैठकमा कांग्रेस सांसदहरुले नाराबाजी गरेका छन् ।
बैठकमा बोल्दै विपक्षी दलका नेता वीरेन्द्रकुमार कनौडियाले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘बुई चढेर’ राजधानी सार्न खोजेको आरोप लगाएका छन् ।
‘केपी ओलीको बुइँमा चढेर राजधानी सार्न खोजियो यो आपत्तिपूर्ण छ,’ उनले भने, ‘बुटवलबाट दाङमा राजधानी सार्नुको औचित्य के हो । खुसी हुनुपर्ने दिनमा बाहिर निषेधाज्ञा लगाएर तानाशाही शैलीमा राजधानी तोक्न खोजियो ।’
उनले नयाँ ठाउँ विकास गर्न होटल खोल्न सकिने भए पनि रहर र राजनीतिक स्वार्थका लागि राजधानी सार्ने प्रस्ताव ल्याइएको आरोप लगाए ।