राजसंस्था सहितको हिन्दूराज्यका लागि लोहोनी र राणाले गरे हस्ताक्षर - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

राजसंस्था सहितको हिन्दूराज्यका लागि लोहोनी र राणाले गरे हस्ताक्षर



काठमाडौं– विभिन्न स–साना घटकमा विभाजित पूर्वराजावादीका रुपमा परिचित राप्रपा घटकबीच एकता प्रक्रिया सुरु भएको छ ।

पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपाबीच पार्टी एकताको सहमतिमा हस्ताक्षर भएको छ । राणाको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र लोहनीको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच शुक्रबार पार्टी एकता घोषणा गर्ने सहमति भएको हो । दुई घटकको एकीकरणपछि बन्ने नयाँ पार्टीको नाम राप्रपा (संयुक्त) राखिने भएको छ । यस्तै चुनाव चिन्ह हलोमा सहमति भएको छ ।

एकीकृत पार्टीले राजतन्त्रसहितको हिन्दू राष्ट्रलाई प्रमुख रणनीति तय गर्ने सहमति पनि दुई नेताबीच भएको छ ।

राप्रपा राष्ट्रवादीका अध्यक्ष लोहनीले राजसंस्थासहितको हिन्दूराज्यका लागि आफूहरु सक्रिय हुने बताए । उनले पछिल्लो राजनीतिक अवस्थाले मुलुकमा राजसंस्थाको आवश्यकता थप बढेर गएको जिकिर लोहनीको छ । लोहनीले नेतृत्वका हकमा नेकपाले अभ्यास गरिरहेको दुई अध्यक्षात्मक प्रणाली अपनाइने र महाधिवेशनपछि एकल नेतृत्वमा जाने जानकारी दिए ।

एक वर्षपछि पार्टीको महाधिवेशन सम्पन्न गरिने बताइएको छ । पार्टीका महत्वपूर्ण निर्णय अध्यक्षद्वय र वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री लोकन्द्रबहादुर चन्दको सहमतिमा हुनेछ । दैनिक कार्य सञ्चालनका लागि दुई अध्यक्ष रहेको निर्देशन समिति गठन गरिने र समितिको अध्यक्षता आलोपालो गर्ने सहमति समेत भएको प्रवक्ता किरण गिरीले जानकारी दिए ।