परम्परागत राजनीति नभई परिवर्तित राजनीति गर्नुपर्छ : तामाङ - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

परम्परागत राजनीति नभई परिवर्तित राजनीति गर्नुपर्छ : तामाङ



विशाल पाण्डेय / सुखड ,कैलाली ।

अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष रञ्जित तामाङले २१ औँ शताब्दीमा परम्परागत राजनीति नभई परिवर्तित राजनीति गर्नु पर्ने बताएका छन् ।

स्वतन्त्र विद्यार्थी युनियन, घोडाघोडी बहुमुखी क्याम्पस कमिटी सुखडले शुक्रवार आयोजना गरेको पुस १५ विशेष सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै युवा नेता तामाङले २१ औँ शताब्दीमा परम्परागत राजनीति नभई नयाँ तरिकाले राजनीति गरियो भने विद्यार्थीको एजेन्डा र भावनालाई बुझ्न सकिने बताएका हुन् ।

कानमा मुन्द्रा लगाएर क्याम्पसका प्रमुखहरू लाई धम्काइ पैसा लुटेर मोज मस्ती गर्ने अङ्कलहरूको पुस्ताहरूलाई अन्त्य गरी २८ वर्षीय रेगुलर विद्यार्थीलाई स्वतन्त्र विद्यार्थीको पदाधिकारी बनाइयो भने मात्र उसले विद्यार्थीको हक हितको काम गर्ने र विद्यार्थीको नेतृत्व गर्न सक्ने तामाङले बताए । उनले भने, ‘ हिजोको दिनमा चक्काजाम ,आन्दोलन ,तोडफोड र आगजनी जस्ता कार्यहरू गर्नु भनियो तर, अब विद्यार्थी आन्दोलनमा कहीँ तोडफोड ,आन्दोलन र आगजनी नगरी रचनात्मक र सृजनशील विद्यार्थी आन्दोलन गरी देशको विकास र
समृद्धि लाई लक्ष्य बनाएर सबै सङ्ग साझा हातेमालो गरी देश निर्माण गर्न लाग्नुपर्छ ।’

त्यस्तै अध्यक्ष तामाङले अखिल क्रान्तिकारी र अनेरास्ववियु छिटै एकता भई सङ्गठनको नाम अनेरास्ववियु रहने र आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुने समेत बताए ।

साथै कार्यक्रममा बोल्दै अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य लोकेन्द्र सिंहले अबको विद्यार्थी आन्दोलन हिजोको जस्तो लडाई, सडकमा टायर बाल्ने, तालाबन्दी गर्ने तिर केन्द्रित नभई जनता लाई सुखी र खुसी कसरी बनाउने, देश लाई समृद्व कसरी बनाउने र उच्च शिक्षा पढ्ने वातावरण कसरी बनाउने भन्ने तिर ध्यान भएको बताए ।

त्यस्तै नेविसंघ घोडाघोडी नगर संयोजक कलक जंग सिंहले घोडाघोडी बहुमुखी क्याम्पसमा कुनै पनि कार्यक्रमहरु गर्दा एकलौटी र मनोमानी ढंगले संचालन गर्दै आइरहेका प्रती आपत्ति जनाए । निर्मला हत्या प्रकरणमा कांग्रेसको हात रहेको र कांग्रेसले हत्यारा पत्ता लगाउन नसकेको भन्ने आरोप लगाउनु भन्दा पहिला २०५० सालमा मदन भण्डारीको दासढुङ्गामा हत्या हुदा उहाको श्रीमती देशको सम्मानिय पदमा पुगेर पनि किन नेपाल कम्युनिस्ट पार्टीले हत्यारा पत्ता लगाउन नसकेको भन्दै नगर संयोजक सिंहले क्रान्तिकारीका अध्यक्ष तामाङलाई प्रश्न समेत गरेका थिए ।

स्वतन्त्र विद्यार्थी युनियन, घोडाघोडी बहुमुखी क्याम्पस कमिटीका सभापति जीवन बि.सी.को सभापतित्वमा सम्पन्न भएको सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति समेत रहेको थियो ।

स्वतन्त्र विद्यार्थी युनियन, घोडाघोडी बहुमुखी क्याम्पस कमिटीकी सह सचिव भगवती जोशीको स्वागत सँगै सुरु भएको कार्यक्रममा अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष नरेन्द्र न्यौपाने, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य लोकेन्द्र सिंह, घोडाघोडी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख भवानी प्रसाद तिवारी , घोडाघोडी बहुमुखी क्याम्पसका मानविकी विभागीय प्रमुख प्रेम राज चौधरी, व्यवस्थापन विभागीय प्रमुख वीरेन्द्र कुँवर, अनुसन्धान विभागीय प्रमुख पुष्पराज जैसी, अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेश संयोजक तथा अखिल क्रान्तिकारी केन्द्रीय सदस्य खगेन्द्र हमाल, अखिल क्रान्तिकारी केन्द्रीय सदस्य शाबित्रा आचार्य, ने.वि.सङ्घ घोडाघोडी नगर संयोजक कलकल जङ्ग सिंह लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन भरत कुमार शाही र समीर जोशीले गरेका थिए ।