भारतको एक इन्च जमिन विश्वको कुनै शक्तिले लिन सक्दैन: राजनाथ सिंह - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

भारतको एक इन्च जमिन विश्वको कुनै शक्तिले लिन सक्दैन: राजनाथ सिंह



नयाँ दिल्ली । भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतको एक इन्च जमिन पनि कोही लिन नसक्ने दाबी गरेका छन् ।

रक्षामन्त्री सिंहले शुक्रबार भारत-चीनबीच सीमा समस्या समाधानका लागि वार्ता भइरहेको जनाउँदै विश्वको कुनै पनि शक्तिले भारतको एक इन्च जमिन अतिक्रमण गर्न नसक्ने बताएका छन् । उनले भने, “भारत-चीनबीचको समस्या समाधानका लागि वार्ता भइरहेको छ । वार्ताबाट समाधान निस्किनुजस्तो उत्कृष्ट अरु केही हुनसक्दैन । तर, यो कुन समयमा र अवस्थामा समाधान हुन्छ भन्‍ने ग्यारेन्टीका साथ भन्‍न सकिने अवस्था छैन ।”

दुई दिने भ्रमणका क्रममा रक्षामन्त्री सिंहले रक्षा अधिकारी विपिन रावत र सेना प्रमुख मनोज मुकुन्द नरवणेसहित लद्दाख र जम्मु काश्मीर पुगेका हुन् ।

उनले त्यहाँ इन्डो-तिब्तीयन बोर्डर पोलिसलाई सम्बोधन गर्दै भने, “तपाईंहरुसँग कुराकानी गर्न पाउनु मेरो अहोभाग्य हो । सीमा क्षेत्रका सुरक्षाकर्मीले देखाएको दृढताले सिंगो मुलुक गौरवान्वित भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले समेत सीमा रक्षाका क्रममा जीवनको आहुती दिएका सहिदहरुको बलिदानलाई खेर जान नदिने बताउनु भएको छ ।”

रक्षामन्त्री सिंहले शुक्रबार बिहान पारा ड्रोपिङ र स्कोपिङ हतियार प्रदर्शनको अवलोकन गरेका थिए । उनले पिका मेसिन गनसमेत निरीक्षण गरेका थिए ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लद्दाखको लेह पुगेर सीमा सैनिकलाई सम्बोधन गरेका थिए । उनले चीनतर्फ संकेत गर्दै भनेका थिए, “अब विस्तारवादी नीतिको अन्त्य भएर विकासको नीति सुरु भइसकेको छ । विस्तारवादी नीति लिएका मुलुकहरु कि त पराजित भएका छन् कि त पछि हटेका छन् ।”

१५ जुनमा भारत-चीनबीच लद्दाखको गलवान भ्यालीमा झडप भएको थियो । उक्त झडपमा २० भारतीय सेनाको मृत्यु भएको थियो ।