राजनाथ सिंहले भने: नेपालसँग सम्बन्ध बिग्रन दिन्नौँ - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

राजनाथ सिंहले भने: नेपालसँग सम्बन्ध बिग्रन दिन्नौँ



काठमाडौं- भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालको सदियौं देखिको सम्बन्ध बिग्रन नदिने घोषणा गरेका छन् । मंगलबार साँझ जी न्युजसँगको अन्तर्वार्तामा उनले दुई देशको बीचमा कुनै असमझदारी उत्पन्न भए बसेर वार्ताद्वारा हल गर्ने भारतले हर प्रयास गर्ने बताएका छन् ।

सीमा विवादका कारण नेपाल-भारतको पछिल्लो समय सम्बन्ध निकै कुंडीएको छ । यो विषयले नेपाल र भारतमा चर्को बहस भैरहेको छ । नेपालले आफ्नो नक्सा नै परिवर्तन गरेर संविधान संसोधनको प्रक्रियामा लागेपछि भारत यो मुद्दामा रक्षात्मक बनेको बुझिएको छ ।

मंगलबार साँझ जी न्युजसँगको अन्तर्वार्तामा सिंहले यस्तो बताउनुले भारत वार्ता बस्न चाहन्छ भन्ने प्रष्ट भएको छ । तर अन्तर्वार्ताकै दौरान रक्षामन्त्री राजनाथ सिंहले सीमाबारे नेपालले भारतसंग उठाएको बिषय चीनको उक्साहटमा भएको आरोप समेत लगाएका छन् । उनले चीनको नाम नै नलिई नेपालले चालेका पछिल्लो कदमको पछाडि कसै न कसैको हात रहेको आरोप लगाएका हुन् ।

यसभन्दा अगाडी भारतीय सेनाध्यक्ष एमएम नरवणेले पनि नेपाल चीनको इसारामा सीमाको नेपाल उचाल्लिएको बताएका थिए । उनले नेपालले चीनको आदेशमा सीमासम्बन्धी असन्तुष्टि प्रकट गरेको आरोप लगाएका थिए। उनको भनाइको भारतमा समेत विरोध भएको थियो। तर, रक्षामन्त्री सिंहले दुई सातापछि त्यस्तै अभिव्यक्ति दोहोर्याएका छन् ।

उनले अन्तर्वार्तामा थपेका छन्, ‘नेपालसँग भारतको सदियौँदेखिको भावनात्मक सम्बन्ध छ, त्यसलाई भारत कुनै पनि हालतमा टुट्न दिनेछैन। दुई देशको बीचमा कुनै असमझदारी उत्पन्न भए बसेर वार्ताद्वारा हल गर्ने भारतको प्रयास रहनेछ,’ सिंहले भने, ‘म कसैलाई आरोप लगाउन त सक्दिनँ तर केही न केही त छ कतैबाट। तर, म कसैलाई लान्छित गर्न चाहन्नँ। यति भन्न चाहन्छु नेपालसँग हाम्रो भावनात्मक सम्बन्ध छ।’

‘नेपालका केही मान्छे यताउता सोच्दा हुन्, तर म नेपालबारे नराम्रो सोच्दिनँ,’ उनले थपे, ‘नेपालसँग सम्बन्ध राम्रो बनाउन जे गर्नुपर्छ, भारतले गर्नेछ।’