विपद् व्यवस्थापनको बैठकमा हिँडेका गाउँपालिका अध्यक्ष बाटैमा बिलाए - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

विपद् व्यवस्थापनको बैठकमा हिँडेका गाउँपालिका अध्यक्ष बाटैमा बिलाए



परासी- नवलपरासीका एक गाउँपालिकाका अध्यक्षको निधन भएको छ । विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन जाँदैगर्दा नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा निधन भएको हो ।

दुर्घटनामा गाउँपालिकाका सवारी चालक प्रतापपुर गाउँपालिका ५ का हरिलाल राजभर घाइते भएका छन् । गाउँपालिकाको लु १ झ ३७० नम्बरको सवारी अनियन्त्रित भएर पल्टँदा गम्भीर घाइते भएका शर्माको उपचारका लागि चिसापानी सामुदायिक अस्पताल चौपत्ता ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलरासीका प्रमुख एसपी अजय केसीले बताए ।

जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन सदरमुकाम जाने क्रममा बर्दघाट–त्रिवेणी सडकखण्डको लक्ष्मीपुरमा दुर्घटना भएको हो ।

मृतक शर्माको शवलाई पोस्टमार्टका लागि पृथ्वीचन्द्र अस्पताल परासीमा राखिएको छ । ५१ वर्षीय शर्मा स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।