संसदबाटै प्रधानमन्त्रीको राजिनामा माग - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

संसदबाटै प्रधानमन्त्रीको राजिनामा माग



काठमाडौं – एक सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने बताएका छन् । गुठी विधेयक पारित गर्ने साहस नगरेको भन्दै नेमकिपा सांसद प्रेम सुवालले प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने अवस्था आएको बताएका हुन् ।

प्रतिनिधि सभाको बुधवार बसेको बैठकको शून्य समयमा सुवालले ब्रेक्जिटमा आफ्नै सांसदले समर्थन नगरेर बेलायती प्रधानमन्त्रीले राजीनामा दिएको प्रसंग कोट्याएका हुन् ।

‘गुठी विधेयकमा जोताहालाई मोहियानी हक दिएर सम्पदा संरक्षण र संस्कृति संरक्षणको लागि तत्तत् गाउँपालिका र नगरपालिकालाई स्रोत र खर्चको व्यवस्थापन गर्ने जिम्मेवारी दिई विधेयक संशोधनसहित पारित गर्न सकिन्थ्यो तर सरकारले साहस गरेन,’ सांसद सुवालले भने, ‘प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने समय लिइसकेपछि सम्बोधनबाट पछाडि हटेर पत्रकार सम्मेलन गर्नुभयो र गुठी विधेयक फिर्ता लिनेतिर जानुभयो । यो घटनाबाट प्रधानमन्त्री ओलीले नैतिक रुपमा राजीनामा दिनुपर्ने स्थिति उत्पन्न भयो । बेलायतका प्रधामनन्त्री मेले ब्रेक्जिटमा आफ्नै पार्टीका सांसहरूले भोट नहालेपछि राजीनामा दिनुपरेको घटनाबाट पाठ सिक्न जरुरी छ ।’

सांसद सुवालले यही स्थितिमा नेकपाका अन्य नेताहरू प्रधानमन्त्री भएपनि समस्या समाधान नहुने टिप्पणी गरे । फाइल तस्बिर