शिक्षामन्त्री पोखरेललाई राजीनामा दिन माग
काठमाडौं– प्रतिपक्षि दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रदेश २ मा एसइई परीक्षा रद्द हुनु सरकारको लापरबाही भएको आरोप लगाएका छन् ।
डा कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उक्त घटना राज्यको गैरजिम्मेवारीपनका कारण भएको दाबी गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले तत्काल राजीनामा दिनसमेत माग गरेका छन् ।
‘राज्यको लापरबाही र गैरजिम्मेवारीका कारण प्रदेश नं–२ को एसइई परीक्षा बीचैमा स्थगित हुन पूगेको छ । यसले हजारौं विद्यार्थीहरुको भविष्य अन्धकारतर्फ धकेलिएको छ,’ कोइरालाले भनेका छन्, ‘परीक्षाको आफ्नै मर्यादा र गोपनियता हुन्छ । यस सवालमा संघीय सरकार चुकेको देखिन्छ । यो गम्भीर घटनाको नैतिक जिम्मेवारी लिँदै शिक्षामन्त्रीले तत्कालै राजीनामा दिनुपर्छ र आगामी दिनमा यस्ता घटना नदोहोरिने प्रतिबद्धता राज्यले जनाउनु पर्दछ ।’
प्रश्नपत्र परीक्षा अगावै बाहिर आएपछि प्रदेश २ को एसइई परीक्षा रद्द गर्ने सरकारले निर्णय गरिसकेको छ ।