राजेन्द्र महतोले किन गरे एकाएक लोसपा छोडेको घोषणा ? - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

राजेन्द्र महतोले किन गरे एकाएक लोसपा छोडेको घोषणा ?



जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले एकाएक लोसपा छोडेको घोषणा गरेपछि सबैतर्फ चर्चाको विषय बन्यो । उनकै फेसबुकबाट यस्तो घोषणा हुँदा मधेशबादी दलहरू झनै आश्चर्यमा परे ।

तर वास्तविकता भने अर्कै थियो । नेता महतोको फेसबुक पेज ह्याक गरेर कसैले यस्तो घोषणा गरेको थियो । आफ्नो फेसबुक ह्याक गरेर लोसपा परित्याग गरेको सुनियोजित रूपमा प्रचार गरिएको महतोले बताएका छन् ।
ह्याकपछि महतोको पेजमा लेखिएको थियो, ‘लोकतान्त्रिक समाजवादी पार्टी, नेपालसँगको यात्रालाई आजबाट पूर्णरूपले बिराम दिएको छु । यात्रालाई सहज र सरल बनाउन सहयोग गर्नुभएको सम्पूर्ण साथी शुभचिन्तक र पार्टीका सदस्यहरुलाई हृदयदेखि धन्यवाद ।’

पार्टी परित्याग गरेको घोषणासहितको स्टाटस अपलोड भएलगत्तै उनलाई धेरैले फोन गरेको स्रोतले जनायो । गुनासो आएपछि नेता महतोले फेसबुक चेक गरे । स्टाटस हेरेपछि उनी आश्चर्यमा परेका छन् ।

नेता महतोले लगत्तै आफ्नो फेसबुक ह्याक गरी सुनियोजित रूपमा कसैले भ्रम फैलाएको र त्यसमा कुनै सत्यता नरहेको स्टाटस लेखेका छन् ।

‘यस्तो घृणित कार्य गर्नेलाई तुरुन्त कानुनी प्रक्रियाको दायरामा ल्याउन पहल गर्नेछु’, उनले लेखेका छन् ।