फिर्ता बोलाउने र नयाँ नियुक्त हुने राजदूत को- को हुन् ? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

फिर्ता बोलाउने र नयाँ नियुक्त हुने राजदूत को- को हुन् ?



सरकारले १० कूटनीतिक नियोगमा राजदूत नियुक्ति प्रक्रिया अघि बढाएको छ ।

लामो समयदेखि रिक्त ४ र अब खाली हुन लागेका ६ कूटनीतिक नियोगमा एकैसाथ नियुक्ति प्रक्रिया सुरु गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा घनश्याम खड्काले लेखेका छन्।

‘नियुक्तिका लागि उपयुक्त उम्मेदवारको रोस्टर तयार पार्दै छौं, त्यो सकिनासाथ प्रधानमन्त्रीसँग छलफल गरी क्याबिनेटमा प्रस्ताव लैजान्छौं,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘तिहारअघि नै नियुक्ति हुनेछ ।’ हाल भारत, यूएई, मलेसिया र राष्ट्रसंघका लागि स्थायी नियोगमा राजदूत छैनन् ।

यूएईमा अढाई वर्षअघि धनञ्जय झाको र मलेसियामा गत माघमा निरञ्जन बस्नेतको पदावधि सकिएको थियो । भारतका लागि तत्कालीन राजदूत दीपकुमार उपाध्यायले प्रतिनिधिसभा सदस्य चुनाव लड्न अघिल्लो असोजमा राजीनामा दिएका थिए ।

राष्ट्रसंघका लागि राजदूत दुर्गाप्रसाद भट्टराईको पदावधि गत वर्ष साउनमै सकिएको थियो । तत्काल नियुक्त गर्न नसक्दा थप केही महिना काम गर्ने गरी सरकारले उनको कार्यकाल थपेको थियो । त्यस अवधिमा पनि अर्को कोही नियुक्त हुन नसकेपछि परराष्ट्रले उनलाई फिर्ता बोलाइसकेको छ।

नयाँदिल्ली र न्युयोर्क राजनीतिक र कूटनीतिक रूपले संवेदनशील नियोग रहेका तथा दुबई र मलेसिया वैदेशिक रोजगारीका लागि नेपालीको मुख्य गन्तव्यमध्येका भएकाले सक्दो छिटो नियुक्ति हुनुपर्नेमा ‘आफ्नो मान्छे’ राख्ने प्रवृत्तिका कारण लामो समयदेखि खाली रहेको कूटनीतिक मामिलाका जानकार बताउँछन् ।

थाइल्यान्डका राजदूत खगनाथ अधिकारी, कुवेतका यज्ञबहादुर हमाल, साउथ अफ्रिकाका अमृतबहादुर राई, फ्रान्सका अम्बिका मानन्धर लुइँटेल र क्यानडाका कालिप्रसाद पोखरेलको पदावधि अढाई महिनाभित्र सकिँदै छ । जेनेभास्थित राष्ट्रसंघका लागि स्थायी नियोगका दीपक धितालको पदावधि पनि अढाई महिना मात्रै छ ।

ज्ञवालीका अनुसार सरकारले यी दसै ठाउँमा तिहारअघि नै नियुक्ति गर्न लागेको हो । मापदण्डअनुसार आधा परराष्ट्रका अधिकारी र आधा राजनीतिक सिफारिसमा नियुक्त हुनेछन् ।

सरकारले भारतका लागि नीलकण्ठ उप्रेती र मलेसियाका लागि उदयराज पाण्डेको नाम सिफारिस गरिसकेको भए पनि निर्वाचन आयोगका पूर्वप्रमुख भएकाले संविधानअनुसार उप्रेतीलाई राजदूत बनाउन नमिल्ने भनी नेकपाभित्रै र कांग्रेसबाट विरोध भएकाले दुवैको सिफारिस प्रक्रिया अघि बढेको छैन ।

यी दुवै देशमा पहिलेकै सिफारिस अघि बढाउने सरकारको तयारी छ । दुबई र न्युयोर्कस्थित राष्ट्रसंघीय नियोगमा भने परराष्ट्रका अधिकारी नै पठाउने तयारी रहेको मन्त्रालयले जनायो । स्रोतका अनुसार न्युयोर्कमा परराष्ट्रका सहसचिव भरतराज पौड्याल र दुबईमा कृष्णप्रसाद ढकालको नाम प्रस्तावित छ ।

सरकारले शेरबहादुर देउवाको सरकारका पालामा नियुक्त १३ राजदूतमध्ये कांग्रेस र राप्रपाको कोटाका ९ जनालाई फिर्ता बोलाउने तयारी पनि गरिरहेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारले दुई वर्षअघि एक दर्जन राजदूत नियुक्त गरेको थियो ।

तीमध्ये माओवादी कोटामा परेका राजदूतहरू लक्की शेर्पा (अस्ट्रेलिया), पदम सुन्दास (बहराइन) र यमुनाथ लम्साल (डेनमार्क) लाई यथावत् राख्ने तयारी छ।

कांग्रेसको सिफारिसमा परेका चोपलाल भुसाल (बंगलादेश), भीम उदास (बर्मा), प्रतिभा राणा (जापान), अर्जुनजंगबहादुर सिंह (उत्तर कोरिया), विश्वम्भर प्याकुरेल (श्रीलंका) र रमेश कोइराला (कतार), राप्रपा कोटाका भरत रायमाझी (स्पेन) र निरञ्जन थापा (इजरायल) तथा दाहाल सरकारको अर्को सत्ता साझेदार तत्कालीन फोरम लोकतान्त्रिकको कोटाबाट राजदूत भएकी शर्मिला पराजुली ढकाल (ओमान) मध्ये अधिकांशलाई फिर्ता बोलाउन लागिएको स्रोतले जनायो ।