राजधानीमै अस्पतालमा बेड भरिए, ८ सय ३७ संक्रमित घरमै
काठमाडौं- कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा संघीय राजधानी काठमाडौं उपत्यकामै आइसोलेसन बेड अभाव भएको छ।
राजधानीका कोभिड अस्पतालमा क्षमताभन्दा बढी संक्रमित भर्ना गरिएका छन् भने सक्रिय संक्रमितमध्ये आधाभन्दा बढी घरमै बसिरहेका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
अहिले काठमाडौं उपत्यकाका ११ अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेको छ । ती अस्पतालमध्ये पाँच अस्पतालमा क्षमताभन्दा बढी कोरोना संक्रमित उपचार गरिरहेका छन्।
शनिबारसम्म देशभर सक्रिय संक्रमित आठ हजार सात सय १६ र उपत्यकामा एक हजार पाँच सय ७२ छन्। उपत्यकामा रहेका सक्रिय संक्रमितमध्ये सात सय ३५ जना मात्रै अस्पताल भर्ना भएका छन्। तीभन्दा बढी आठ सय ३७ जना अस्पतालबाहिरै अर्थात् घरमा छन् । तर, यो संख्या स्वास्थ्य मन्त्रालयसँग सूचीकृत छैन।
शनिबारसम्म संक्रमित भर्ना भएका अस्पतालमा पनि क्षमताभन्दा एक सय १६ जना बढी भर्ना भएका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगन्जका कोभिड संयोजक डा. सन्तकुमार दासका अनुसार अस्पतालमा २४ संक्रमित भर्ना भएका छन्।
शिक्षण अस्पतालमा आठ शय्या मात्रै आइसोलेसनको सुविधा छ। ‘स्वास्थ्यकर्मी नै संक्रमित भएका छन् । जसले गर्दा पुराना शय्याको व्यवस्थापन गर्दै संक्रमित राख्दै आएका छौँ,’ डा. दासले भने।
शिक्षण अस्पतालसँगै एपिएफ अस्पताल, कीर्तिपुर आयुर्वेद अस्पताल, धुलिखेल अस्पताल र नेपाल प्रहरी अस्पतालमा क्षमताभन्दा बढी संक्रमित भर्ना छन्।
एक सय २० जना क्षमता रहेको एपिएफ अस्पतालमा एक सय ४८, सयजना क्षमता रहेको कीर्तिपुर आयुर्वेद असस्पतालमा एक सय ६९, आठजना क्षमता रहेको धुलिखेल अस्पतालमा २३ र पाँचजना क्षमता रहेको प्रहरी अस्पतालमा एक सय ६८ जना भर्ना गरिएको छ । अन्य अस्पतालमा पनि संक्रमितको संख्या बढ्दै गएको छ।
कोरोना संक्रमितलाई राख्न सरकारले उपत्यकाका विभिन्न अस्पतालमा आइसोलेसन बेड तयार पारेको थियो । तर, त्यो संख्या ज्यादै न्यून भएको चिकित्सकहरूले बताएका छन्।
जसले गर्दा संक्रमितले आइसोलेसन बेड पाउन सकेका छैनन् । एक हजार पाँच सय ७२ सक्रिय संक्रमित हुँदै आधाभन्दा बढी अस्पताल बाहिर हुनु दुःखद पक्ष भएको चिचित्सकले बताएका छन् । ज्यादै न्यून आइसोलेसन बेडका कारण संक्रमितले पाउन सकेका छैनन्।
३० लाखभन्दा बढी जनसंख्या भएको उपत्यकामा सानो संख्यामै संक्रमित व्यवस्थापन हुन नसक्दा आगामी दिनमा समस्या हुनेमा उनीहरूको चिन्ता छ।