राजपामा भाडभैलो - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

राजपामा भाडभैलो



जनकपुर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा आन्तरिक किचलो छताछुल्ल भई सतहमा आएको छ । गत मंसिर ४ गते अध्यक्ष मण्डलको बहुमतबाट संयोजक पदबाट महन्थ ठाकुरलाई हटाईएपछि राजेन्द्र महतोलाई चयन गरिएको थियो ।

त्यसपछि राजपाभित्र तत्कालिन महन्थ ठाकुर नेतृत्व तराई मधेस राष्ट्रिय पार्टी नेपाल भर्सेज राजेन्द्र महतो नेतृत्व सद्भावना पार्टी समूह बीचको किचलोले संयोजक महतोको पुत्ला दहनसम्म पुगेपछि जनकपुरमा उपलब्ध केन्द्रिय समितिको आपतकालिन बैठक गरि प्रदेश सभाका प्रमुख सचेतक समेत रहेका सांसद परमेश्वर साहलाई निसाना बनाइएको छ ।

महतोको पुत्ला दहनमा प्रदेशको प्रमुख सचेतक तथा सांसद परमेश्वर साहको ग्राण्ड डिजाइनमा भएको भन्दै उपस्थित केन्द्रीय सदस्यको बैठकबाट साहलाई समेत कारवाहीको लागि सिफारिस गर्ने निर्णयले राजपामा हलचल उत्पन्न गरेको छ ।

अध्यक्ष मण्डलका बहुमत सदस्यले महतोलाई अध्यक्ष मण्डलको संयोजक बनाएपछि सुरु भएको विवाद एकताको निर्वाचन आयोगमा पठाइएको केन्द्रीय समितिको सूचीलाई आधिकारिक मान्दै त्यसयताका नियुक्ति र मनोनयन रद्द गर्ने निर्णय गरेपछि त्यसको विवाद अहिले जिल्ला तहसम्म देखिन थालेको छ ।

गत शुक्रबार संयोजक महतोद्वारा हस्ताक्षरित विज्ञप्तिमा राजपा धनुषाको अध्यक्ष मण्डलका ६ जना सदस्यमध्ये एक देवकृष्ण मण्डललाई हटाएर विद्यार्थी नेता ज्ञानेन्द्र झा ‘ज्ञानु’लाई बनाएपछि राजेन्द्र महतोको शुक्रबार पुत्ला दहन गरिएको थियो ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रिय महासचिवहरुको सचिवालय कमिटीको निर्णयले केही जिल्लामा अध्यक्ष मण्डललाई परिवर्तन गर्ने निर्णय अनुरुप निर्णय लिईएको केन्द्रिय महासचिव केशव झाले दाबी गरे ।

तर यता जिल्ला अध्यक्ष मण्डलबाट हटाईएका देवकृष्ण मण्डलले राजेन्द्र महतोले पार्टी एकल वर्चश्व तथा हैकमवादी प्रवृति देखाउँदै आफूलाई हटाएको दाबी गरे । देवकृष्ण मण्डल तथा ज्ञानेन्द्र झा ‘ज्ञानु’ दुवै शरतसिंह भण्डारी पक्षधर नेता हुन् ।

यता राजापाकै एक केन्द्रिय नेताले भने, ‘हैकमवादी प्रवृति राजेन्द्र महतोले देखाएको हो भने उनले आफ्नै लविको मान्छे राख्थे, तर धनुषामा अध्यक्ष मण्डलबाट हटाईएका मण्डल र नियुक्त गरिएको ज्ञानु दुवै शरतसिंहका पक्षधर हुन्, अनि कसरी हैकमवादी भयो ? यो केही हैन, केन्द्रिय सचिवालयको निर्णयलाई संयोजक राजेन्द्र महतोले आधिकारीता मात्र दिएको हो ।’

शुक्रवार साँझ अध्यक्षय मण्डलबाट आफूलाई हटाएको विरोधमा देवकृष्ण मण्डलसहित प्रदेश सचेतक तथा सांसद परमेश्वर साहको नेतृत्वमा संयोजक राजेन्द्र महतोको विरोध गर्दै पुत्ला दहन गरिएको थियो ।

आज राजपाकै केन्द्रिय पदाधिकारीहरुको जनकपुरधाममा बसेको बैठकबाट प्रदेश सचेतक परमेश्वर साहलाई कारवाहीको सिफारिस गरेको एक नेताले जनाए । उनका अनुसार बैठकमा प्रदेश सांसदहरु, महासचिव, प्रवक्ता, केन्द्रिय सदस्य तथा राजपा भातृ संगठका पदाधिकारीहरुको उपस्थिति रहेको स्रोतको भनाई छ ।

यता मुख्य विवाद देखिएको संयोजक राजेन्द्र महतो र प्रदेशका प्रमुख सचेतक परमेश्वर साह एकै निर्वाचन क्षेत्रबाट निर्वाचित भएका हुन् । तर दुवै फरक लविका नेता भएका कारण परमेश्वर साहले पटक–पटक कतिपय सार्वजनिक समारोहमै राजेन्द्र महतोलाई दुर्व्यवहार गर्दै आएको महतो पक्षधर नेताको भनाई छ ।

केही महिना अघि धनुषाको निर्वाचन क्षेत्र नं. ३ मा अयोजित क्षेत्रीय भेलामा राजेन्द्र महतोले अध्यक्षता ग्रहण गरेपछि विवादले तनावको अवस्था नै सिर्जना गरेको थियो । सोही क्रममा परमेश्वर साहकै नेतृत्वमा महतो विरुद्ध नाराबाजीसहित गालीगलौजसम्म गरेका थिए ।

सोही घटना नसेलाउँदै धनुषाको निर्वाचन क्षेत्र नं. २ मा आयोजित क्षेत्रीय भेलामा समेत परमेश्वर साह नेतृत्व हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डल र पार्टीका केन्द्रिय सदस्य रमण सिंहमाथि जाईलागेका थिए ।