राजपा सँग झुके ओली ! - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

राजपा सँग झुके ओली !



काठमाण्डौ । कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित रेशम चौधरीले आज सांसद्को शपथ लिँदैछन् । चौधरीलाई सिंहदरबारमा शपथ खुवाउन लागिएको हो ।

शपथका लागि चौधरीलाई डिल्लीबजार कारागारबाट सिंहदरबार लगिनेछ । शपथपछि उनलाई पुनः कारागार नै लगिने बताइएको छ । उनले निर्वाचित भएको प्रमाणपत्र र सांसद्को लोगो भने शपथसँगै बुझ्नेछन्।

संसद् नियमावली अनुसार उनले सांसद्को पदीय पहिचान हुने कुनै पनि कामकाज गर्न पाउने छैनन् ।

सेवा सुविधा रोक्का हुनेछ । भने, सांसद्को हिसाबमा बैठकमा भाग लिन पाउने छैनन् । प्रतिनिधसभा नियमावलीको २४४(३) अनुसार चौधरी संसद् बैठकमा सहभागी हुन पाउने छैनन् ।

२०७४ फागुन १४ गते चौधरीलाई कैलाली जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । कैलाली घटनापछि फरार रहेका चौधरीले अदालतमा आत्मसमर्पण गरेका थिए । आत्मसमर्पण गरेकै दिन अदालतले बयान गराई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

थुनामा रहेका चौधरीले आफूले निर्वाचित भएको प्रमाणपत्र पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए । ०७४ पुसमा दर्ता रिटमा सर्वोच्चले पनि कानुनी हिसाबले फरार रहेको भन्दै वारेसमार्फत रिट दर्ता अस्वीकार गरेको थियो । चौधरीको रिट दरपीठ भएको थियो ।

२०७२ भदौ ७ मा थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो । उक्त घटनाका मुख्य योजनाकार चौधरी रहेको मुख्य आरोप छ ।

राजपाले संविधान संशोधनको माग राख्दै गर्दा चौधरीलाई पनि सपथ खुवाउनुपर्नें माग जोडेको थियो । पछिल्लो समय पुष १० गते राजपाका नेताहरुले प्रधानमन्त्री केपी ओलीलाई भेटेर आफ्ना मागहरु पूरा गराउन दबाब दिएका थिए ।

ओलीले एक हप्ताभित्रमा मागका बारेमा जवाफ दिने बताएका थिए । संविधान संशोधन लगायतका अरु मागका विषयमा केही नबोले पनि चौधरीलाई सपथ खुवाएर ओलीले राजपासँगको दुरी बढ्न नदिने रणनीति लिएको देखिन्छ ।