राजपाले संसद बैठक चल्न नदिने - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

राजपाले संसद बैठक चल्न नदिने



काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले आज बस्न लागेको प्रतिनिधिसभा बैठक अवरुद्ध पार्ने निर्णय गरेको छ । संसद बैठक दिउँसो १२ बजे बस्दैछ ।

सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेको हुनाले बैठक अवरुद्ध पारिने राजपा नेता एवं सांसद राजकिशोर यादवले बताए ।

मधेस आन्दोलन एवं थारु आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लंघनका घटनाबारे छानविन गर्न सरकारले ०७३ साल असोज २ गते पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा न्यायिक आयोग गठन गरेको थियो ।

कुल ३ हजार २६४ वटा उजुरीमाथि छानविन गरेर आयोगले ०७४ साल माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो ।

तर, अहिलेसम्म सरकारले लाल आयोगको सो प्रतिवेदन सार्वनिक गरेको छैन । राजपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने सरकारसँग माग राख्दै आएको छ ।

साथै, हाल जेलमा रहेका आफ्ना सांसद रेशम चौधरीविरुद्ध जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएपछि राजपा थप आक्रोशित बनेको छ ।

सांसद चौधरीमाथि जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएपछि राजपाले यसअघि नै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिइसकेको छ । उसले चौधरीलाई रिहाई नगरिए सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।

आन्दोलनका कार्यक्रमबारे छलफल गर्न राजपाका शीर्ष नेताहरुको बैठक मंगलबारदेखि राजधानीमा बसिरहेको छ । बैठक विहीबार पनि जारी रहने राजपा नेता यादवले जानकारी दिए ।