अभियन्ताबाट मेयरको स्वतन्त्र उम्मेदवार: ३४ वर्षे युवाको बनेपा बनाउने योजना - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

अभियन्ताबाट मेयरको स्वतन्त्र उम्मेदवार: ३४ वर्षे युवाको बनेपा बनाउने योजना



काठमाडौं-पाँच वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा स्थानीय तहलाई दलीय मुक्त बनाउनुपर्छ भन्ने मान्यतासहित स्वतन्त्र उम्मेद्वारी घोषणा गर्नेहरुको लर्को लागेको छ । स्थानीय तह दलीय मुक्त भएमा मात्र विकास सम्भव हुने धारणसहित धेरै युवा स्वतन्त्र उम्मेद्वारमार्फत चुनावी माहोलमा होमिएका छन् ।

स्वतन्त्र उम्मेद्वारी घोषणा गर्ने युवा मध्ये एक हुन्, राजानन्द माण्डव्य । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बनेपा नगरपालिकाबाट मेयर पदका दाबेदार हुन्, उनी । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा किसान परिवारमा जन्मिएका माण्डव्यले मेयर उम्मेद्वारी घोषणा गरी राजनीतिक यात्रा सुरु गरेका छन् ।

३४ वर्षीय माण्डव्य राजनीतिमा युवाहरुको आवश्यकता रहेकाले आफूले उम्मेद्वारी दिएको बताउँछन् । उनी भन्छन्, “सबै काममा युवा अगाडि हुन्छन् तर, राजनीतिक तहमा किन हुँदैनन् ?” उनले नगर विकासको प्रतिबद्धतासहितको २५ बुँदे घोषणापत्र पनि जारी गरिसके । जारी प्रतिबद्धतामा एक नगर एक एम्बुलेन्स, दमकल र शवबाहन, जनताको लगानीः जनताको मुनाफा, एक गाउँः एक उद्योगलगायतका विषयलाई समेटिएको छ ।

अभियन्ताबाट राजनीतिक यात्रा

राष्ट्रिय धरोहर प्रतिष्ठान नेपालका संस्थापक समेत रहेका माण्डव्य विगत १० वर्षदेखि राष्ट्रिय पोशाक र राष्ट्रिय झण्डा अभियान सञ्चालन गर्दै आइरहेका छन् । लामो समयदेखि सामाजिक कार्यमा समेत सक्रिय रहेका माण्डव्यलाई राजनीतिमा नआएको भए हुन्थ्यो भने धेरै थिए । तर, समाज बनाउनका लागि सबैभन्दा पहिलो मेरुदण्ड राजनीति रहेका महसुश भएकाले आफू चुनावमा होमिएको उनको भनाइ छ ।

लामो समय सामाजिक अभियान्ता भएर समाजलाई परिवर्तन गर्ने काम गरिरहँदा जति संघर्ष ग¥यौं त्यो त बालुवामा पानी खनाए जस्तो भएको बताउँदै उनले भने,“सडकमा आन्दोलन गरेर जनतालाई जनचेतना जगाएर मात्र पुग्दो रहेनछ । त्यसका लागि त्यसैगरी नीति नियम बनाउनु पर्दो रहेछ, कार्ययोजना बनाउनु पर्दो रहेछ । अनि मात्र हुन्छ भन्ने महसुश भयो ।”

तला बसेर एक्लै गाली गरेर नहुने रहेछ । प्रशासनिक पदमा बसेर नीति, नियम, योजना बनाएपछि मात्र समाजलाई परिवर्तन गर्न सकिने भएकाले आफूले उम्मेद्वारी घोषणा गरेको उनको तर्क छ ।

सामाजिक कार्य गरिरहँदा अव्यवस्थित फोहोरमैला, सहरीकरण, बजारीकरण, पार्किङ्ग देख्दा उनलाई माटोको चिन्ता लाग्थ्यो । आफू विदेश नघुमेको भएपनि देश त यस्तो बन्नुपर्छ भन्ने सोच पहिलेदेखि नै आउने गरेको उनले बताए ।

बनेपा नगरपालिकामा उनले निम्नवर्गका व्यक्तिहरुका लागि घर बनाउनेदेखि लिएर संस्कृति, परम्परा जोगाउने सम्मका अभियान चलाउँदै आएका छन् । उनकै सक्रियतामा विगत १० वर्षदेखि पुस १७ गते राष्ट्रिय पेशाक दिवस मनाईंदै आइरहेको छ । समाजमा भएका विकृति, विसंगतीका विरोधमा आवाज उठाउने माण्डव्य समाजमा आफैले परिवर्तन ल्याउनु पर्छ भन्ने सोच राख्छन् ।

स्वतन्त्र रुपमा आउँदा दलगत स्वार्थ हुँदैन

सयभन्दा बढी स्थानीय तहसँग स्मार्ट पालिकामार्फत सहकार्य गरेर ०७५ सालदेखि स्थानीय तहलाई प्रविधिमैत्री बनाउँदै हिँडेका माण्डव्यले कामको शिलशिलामा स्थानीय तहका कर्मचारीले गरेको भष्ट्रचारलाई आफूले नजिकबाट देखेको बताउँछन् ।

सरकारी कर्मचारीले काम गरिदिएबापत मुनाफा खोज्ने बताउँदै उनी भन्छन्,“जनताको लगानी जनताका लागि खर्च गर्नुको साट्टो, सरकारी कर्मचारीले लिने, दल र पार्टीका लागि छुटाउने गरेको पाइयो ।”

स्थानीय तहसँग काम गरिरहँदा दलगत स्वार्थ हेरेर, पार्टी हरेर काम गर्ने गरेको अनुभव सुनाउँदै माण्डव्य भन्छन्,“स्वतन्त्र रुपमा आउँदा दलगत स्वार्थ हुँदैन, पार्टीगत स्वार्थ हुँदैन । म दलगत स्वार्थभन्दा माथि हुन्छु ।” स्थानीय तहलाई दलिय मुक्त बनाउन आवश्यक रहेको उनले बताए ।

स्थानीय सरकारसँग स्थानीय तहको विकास निर्माण र जनतालाई आवश्यक सेवा सुविधा दिन सक्ने पुग्ने पैसा छ । तर, विनियोजन गरेको बजेट आधारभन्दा बढी त हिनामिना हुने गरेको समेत उनको दाबी छ । स्थानीय तहमा आर्थिक हिनामिना, शक्तिको दुरुपयोग, दलिय स्वार्थ, पक्ष प्रतिपक्ष, बजेटमा बाइकट गर्ने जस्ता कार्यको असर सिधै आमजनतामा परेको उनको भनाइ छ ।

“चुनाव जित्नु वा हार्नु बेग्लै कुरा हो । मैले योजनाहरु बनाएको छु । मैले बनाएका कुनैपनि योजनाहरु महत्वाकाङ्क्षी छैन । सबै योजना किसान, कृषि, गरिब, निम्न वर्गका लागि बनाएको छुु”, उनले भने, “बनेपाको मूल अर्थतन्त्र कृषिसँग सम्बन्धित छ । मेरो पाँच वर्ष किसान र कृषिलाई बचाउनका लागि हुनेछ ।”

उनी थप्छन्, “कृषि छ त अन्न छ, अन्न छ त जीवन छ ।”