राजाको स्वभाव जर्सी गाई जस्तो हुन्छ ! राजा ज्ञानेन्द्र ब्यापारी पनि होइनन् र लोभी पनि होइनन् ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

राजाको स्वभाव जर्सी गाई जस्तो हुन्छ ! राजा ज्ञानेन्द्र ब्यापारी पनि होइनन् र लोभी पनि होइनन् !



-दीर्घराज प्रसाई

राजसिंहासनमा बसेका राजाको स्वभाव सुरक्षाको कारणले गर्दा जर्सी गाई जस्तो हुन्छ । अरु गाईहरु भीरपाखा चर्छन्, अघाउँछन्, तर जर्सी गाई भीरपाखामा चर्न जान सक्तैन । गोठालालले जर्सी गाईलाई जस्तो घाँस खान दिन्छन् त्यही खान्छ । जर्सी गाईलाई सिउँडीको घाँस खान दिएपछि थुनबाट रगत आउँछ । त्यस्तै भयो राजसिंहासनमा बसेपछि राजा ज्ञानेन्द्रलाई पार्टीका नेताहरुले जर्सी गाईलाई गोठालाले सिउँडीको घास खान दिएझैं पार्टीका नेताहरु र राजाका बरिपरिका चाप्लुसहरुले पनि गलत सल्लाह दिएर उकासेका हुनाले राजा ज्ञानेन्द्रलाई विवादमा पार्न खोजिएको हो । वास्तवमा राजा ज्ञानेन्द्र एक कवि ह्रदयका देशभक्त हुन् । उनलाई राजसिंहासनमा बस्छु भन्ने थिएन, तर अपरझट्ट दुर्घटना घटेपछि राजा वीरेन्द्रको बंश नास भएपछि संविधान अनुसनर राजसिंहासनमा बस्नु उनको वाध्यता थियो ।

राजाको सम्वेदनशीलता बुझन नसकेर शेरबहादुर देउवा, गिरिजाप्रसाद, माधव नेपालले राजालाई निरंकुश बनाएर वदनाम गर्न पयत्नशील भए । यो उनीहरुको ठूलो गल्ती हो । राजदरबारको के परम्परा छ भने नयाँ राजा सिंहासनमा बसेपछि पहिलाका राजा, अधिराजकुमार, अधिराकुमारीहरुको नाममा रहेको सम्पत्ति सबै नयाँ राजामा हस्तान्तरण हुन्छ । अधिराजकुमार हिमालय, अधिराजकुमारी प्रिन्सेफ शाह, स्वर्गवासी राजा वीरेन्द्रको सारा सम्पत्ति राजा ज्ञानेन्द्रको नाममा नामसारी भएकोमा नेताहरुले आरोप गरे–ब्यापारी राजाले सबैको सम्पत्ति हडपे । तर राजा ज्ञानेन्द्र ब्यापारी पनि होइनन् र लोभी पनि होइनन् । तर जस्ले जे भन्यो राजपरिबारको सम्पत्तिलाई स्वाहाः गर्न चाहेनन् ।

अतः अनर्थमा अनावश्यक कुरा उठाउन मिल्दैन । यसोभन्दा मलाई राजाको प्रवक्ता ठानिएला तर त्यसो होइन, पराकाष्ठा नाघेकाले मलाई यो लेख्न मन लागेको हो । माघ १९ को कदमको मैले समर्थन गरिन भनेर राजाका वरिपरिकाहरुले राजाको शासनकालभरी मलाई राजासँग भेटघाट गर्न दिइएन । यस्ता धेरै कुराले गर्दा नेपालमा राजसंस्था विस्थापित गर्न विदेशीहरुले नेपालका पार्टीका दलाल नेताहरुलाई हातमा लिएर अवैधानिक तरिकाले झुक्याएर गणतन्त्र घोषणा गरेका हुन् ।

कांग्रेस, एमाले, माओवादीका नेताहरु कतिहदमा धोकेवाज छन् भने २०६३ साल बैशाख ११ गते राजासँग संझौता भएर जनआन्दोलन बिसर्जन भयो । आन्दोलनका नेता गिरिजाप्रसाद कोइरालाले २०५८ सालमा विगटीत प्रतिनिधिसभा ब्यूँताउने सर्तमा राजदरबारमा राजा ज्ञानेन्द्रबाट प्रधानमंत्रीको सपथग्रहण लिए । त्यसपछि २०६३ साल जेष्ठ ४ गते राजाबाट ब्यूँताइएको प्रतिनिधिसभाबाट राजाको जेठो छोरो नजन्मिएर छोरी भएमा जेठी छोरी पनि राजसिंहासनमा बस्ने सर्वस्म्मत निर्णय भयो । तर केही समयपछि यिनीहरु आफै राष्ट्रप्रमुख भएर अधिनायकवादी बनेर राजालाई निलम्वन गरे । त्यसपछि आफैखसी गणतन्त्र घोषणा गरे । विदेशीहरुको सहारा र निर्देशनमा यसरी राजनीतिक धोका दिएर नेपालको यसरी अधोगति भएको हो । पछाडिबाट छुरी हान्नेहरुसँग कस्को के लाग्छ ?

राजा ज्ञानेन्द्रसँग मेरो संवन्धको कुरा उठाउने हो भने राजाले २०५८ माघ १९ गतेको घटना मलाइ मन नपरेर राजसंस्था विवादमा नपरोस भनेर बिरोध गरेको थिएँ । तर म राजतन्त्र बिरोधी होइन । तर मान्छेहरु कोही मलाई राजावादी भन्छन्, कोही राष्ट्रवादी भन्छन् । तर मलाई मान्छेहरुले जे जे भनून्, म लगायत सम्पूर्ण नेपालीहरु सार्वभौम नेपालको सुदृढताको लागि सँधै आफूहरुलाई राजसंस्था सहितको प्रजातान्त्रिक मान्यतामा समर्पण गरिरहने छौं ।

नेपालको राष्ट्रियतालाई एकताको सुत्रमा वाध्न सक्ने संयन्त्र– राजसंस्था, हिन्दु अधिराज्य र राष्ट्रभाषा नेपाली नैं हो । नेपालको राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रको समन्वय र संतुलन गरेर राजाको अपस्थितिमा सम्पूर्ण देशभक्त शक्ति सक्रिय बनेर देशभित्रका ब्याप्त भ्रष्टाचार निर्मल गर्ने र विदेशी हस्तक्षेपको बिरुद्ध सशक्त बन्दै पिछडिएको क्षेत्र र जातिको विकासको लागि राज्यको सम्पूर्ण शक्ति केन्द्रीत गराएर देश बचाउन सक्नुपर्छ ।

-उक्त लेख  लेखकको नितान्त व्यक्तिगत विचार हो सम्पादकको कुनै भूमिका छैन ।