हिन्दू राजाको हैसियतमा ज्ञानेन्द्र शाह हरिद्वारमा - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

हिन्दू राजाको हैसियतमा ज्ञानेन्द्र शाह हरिद्वारमा



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दू सनातन धर्म, परम्परामाथि बाह्य अतिक्रमण भएकाे टिप्पणी गरेका छन् । हरिद्वारस्थित निरञ्जनी अखडामा महामण्डलेश्वर, मण्डलेश्वर, पीठाधीश, सन्तमहन्त र साधुहरुलाई सम्बोधन गर्दै पूर्वराजाले धर्म बचाउने र संस्कृतिको रक्षा गर्ने दायित्व आएकोसमेत उल्लेख गरे ।

तीन पेज लामो सम्बोधनमा उनले कुनै राजनीतिक विषय समावेश गरेनन् । ‘कतिपय बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण यता केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कुरा साँचो हो’, पूर्वराजाले नेपाली भाषमा गरेको सम्बोधनमा भनिएकाे छ, ‘अब हामीले हाम्रो धर्म बचाउनु छ, हाम्रो संस्कृतिको रक्षा गर्नु छ । हाम्रो मठमन्दिर देवस्थल र धामहरुको विकास गर्नु छ । हाम्रा नदीहरुको प्रवाह स्वच्छ पार्नु छ ।’

भारतको उतराखण्डस्थित हरिद्वारमा जारी महाकुभ्म मेलामा पूर्वराजा शाहलाई हिन्दू सम्राटकने हैसियतमा सहभागी गराइएको छ । कुम्भमेलाको आयोजक समितिका निरञ्जन पीठाधीश्वर आचार्य महामण्डलेश्वर स्वामी कैलाशनन्द गिरीले उनलाई नेपाल नरेश, हिन्दू सम्राट, हिन्दू राजाको हैसियतमा निमन्त्रणा पठाएका थिए ।

स्वागत समारोहमा हिन्दू सम्राटको हैसियतमा सम्बोधन गरेका ज्ञानेन्द्रले महाकुम्भ मेलामा आमन्त्रित गरेकालाई धन्यवाद दिए । पूर्वराजा शाहले जल, स्थल र आकाशलाई विषक्त बनाउँदै लगिएको अहिलेको प्रदुषणयुक्त विशवलाई अमृतमय मनाउन कुम्भ मेलाको औचित्य रहेको पनि उल्लेख गरे । नयाँ पत्रिकामा समाचार छ।