राजा भन्दा पनि महँगो गणतान्त्रिक राष्ट्रपति भण्डारी । - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

राजा भन्दा पनि महँगो गणतान्त्रिक राष्ट्रपति भण्डारी ।



कर्ण अधिकारी,नुवाकोट।

१० बर्से माओवादी जनयुद्ध र ६२/६३ सालको जन आन्दोलनबाट नेपाली जनताले ल्याउन सफल भएको लोकतान्त्रिक गणतन्त्र र गणतान्त्रिक राष्ट्रपतिको चर्चा आजकल सामाजिक सञ्जालहरूमा सर्वत्र रङ्गिन थालिए सँगै राष्ट्रपतिको सकारात्मक भन्दा पनि नकारात्मक टिका टिप्पणी हुन थालेको छ।राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुविधाका लागि किन्न खोजिएको सवारी साधन र राष्ट्रपति भवनको बारेमा विद्वान वर्गहरूले समेत विरोध स्वरूप आफ्नो फेसबुक वालमा व्यङ्ग्य प्रहार गर्दै छन्।नेपाली जनताले १० बर्से जनयुद्ध र ६२/६३ सालको लोकतान्त्रिक आन्दोलन सायद यही दिन देख्नका लागि गरेका रहेछन्।

केही दिन अगाडी अनलाइन पोर्टलहरूमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति भवन साँघुरो लागेको र नजिक रहेको प्रहरी एकेडेमीमा हुने फाईरीङ्को आवाजले महामहिमको निन्द्रा र शान्ति नै खल बलिएको कुरा प्रकाशित भएको थियो।फेरी हिजो मात्रै सामाजिक सञ्जालहरूमा राष्ट्रपतिको सवारी साधनलाई सरकारले ४ करोड दिँदा पनि उहाँलाई नपुगेर १८ करोड निकासी हुँन लागेको कुरा आएको छ।यदि यो कुरा सत्य तथ्य नै हो भने यस विषयमा केही लेख्ने जमर्को गरेको छु।यस लेखाइको क्रममा महामहिम ज्यूलाई केही असहज हुन गएमा माफी समेत माग्न चाहन्छु।

महामहिम राष्ट्रपति विद्यादेवी भण्डारी नेपालको दोस्रो राष्ट्रपति र उहाँको दोस्रो कार्यकाल।तत्कालीन एमालेबाट उपहार पाएको राष्ट्रपति पदले उहाँको जीवन नै उथल पुथल र संसारकी आनन्दमा रम्ने रमाउने वातावरण सृजित भए पनि नेपाली जनतालाई राजतन्त्रका राजा हुनु र राष्ट्रपति हुनुमा कुनै फरक नपरेको र राजा भन्दा पनि राष्ट्रपति महँगो भएको कुरा निर्क्यौलमा पुगेका छन्।राष्ट्रपति भण्डारीमा यति धेरै इच्छा आकाङ्क्षा बढ्नुले पनि गरिब देश नेपाल भए पनि राष्ट्रपतिको  तडकभडक चाहिँ युरोप अमेरिकाको जस्तै हुन खोज्नु गणतन्त्र,राष्ट्र र नेपाली जनताकै लागि दुर्भाग्य पूर्ण कुरा हो।

महामहिमले विगतको इतिहासलाई कति छिटो भुल्नु भएछ।कमरेड मदन भण्डारीसँग गासिएको प्रेम सम्बन्ध त्यो अवस्थाको भूमिगत जीवन,जनवादी विवाह,पारिवारिक अवस्था,कमरेड भण्डारीको हत्या हो वा दुर्घटना सबै भुल्नु भएछ।त्यति मात्रै होइन २०४६ सालको जनआन्दोलन,२०५२ देखि ६२ सम्मको माओवादी जनयुद्ध र ६२/६३ सालको लोकतान्त्रिक आन्दोलन सबै भुल्नु भएछ।के उहाँकै सुविधाका लागि यी सबै आन्दोलनहरू भएका थिए त ? के नेपाली जनताले यही आशा राखेका थिए त ? महामहिम राष्ट्रपति ज्यू तपाईँ पूर्व राजा भन्दा पनि एकदमै महँगो हुनु भयो।

मलाई कमरेड मदन भण्डारीको एउटा भाषणले आज पनि झकझकाई रहन्छ।उहाँ भन्नु हुन्थ्यो राजा भनेको हात्ती हुन र जनताले चुनेका राष्ट्रपति बोका हुन किनकि हात्तीलाई पाल्न गारो हुन्छ तर जनताले बनाएका राष्ट्रपति अर्थात् बोकालाई पाल्न सजिलो र कम दाना पानी लाग्छ भन्नु भएको थियो तर आज त्यो कुरा ठिक उल्टो भएको छ।राष्ट्रपति हात्ती र राजा बोका भएका छन्।कमरेड भण्डारीले अर्को कुरा पनि भनेका छन् राजतन्त्र अन्त्य हुँदैमा जनताले सुख पाउने होइनन् एउटा राजाको अन्त्य गराएर सयौँ राजा जन्मिन्छन् भने त्यसले कुनै अर्थ राख्दैन।जस्तो उहाँले भन्नु भएको थियो आज त्यस्तै अवस्था सृजित भएको छ।

महामहिम राष्ट्रपति ज्यूको सवारी साधनलाई निकासी हुन लागेको १८ करोड रकम मध्ये १/२ करोडको गाडी किनेर बाँकी रहेका रकमबाट दूर दराजमा रोग र दुर्घटनाबाट छटपटिएका नेपाली जनतालाई बोक्ने एम्बुलेन्स मात्र खरिद गर्न सके पनि कमसेकम जनताको जीवनमा राहत त मिल्ने थियो।राष्ट्रपति ज्यू तपाईँ किन यति महँगो साबित हुनु खोज्दै हुनु हुन्छ।देश र जनताका लागि भए पनि एक पटक सोची दिनु होस्।जनताले चुनेका जनताकै छोराछोरी तपाईँबाट जनताले यही आशा राखेका थिए त ? कृपया तपाईँ यति धेरै महँगो नबनी दिनु होस।तपाईँको इच्छाले गणतन्त्रलाई फाइदा भन्दा पनि घाटा पुराउने छ।तपाईँको प्रवृत्तिलाई नेपाली जनताले सधैँ धिक्कारी रहने छ।