बिरालो कालो होस् वा सेतो, मुसा नमारे के काम ? - मुख्यमन्त्री राई - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

बिरालो कालो होस् वा सेतो, मुसा नमारे के काम ? – मुख्यमन्त्री राई



विराटनगर – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवलाई एकआपसमा समन्वय गरेर काम गर्न निर्देशन दिएका छन्।

प्रदेश १ सरकारअन्तर्गतका मन्त्रालय तथा निकायको अर्धवार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री राईले कामको सिलसिलामा कसैले कसैको राजनीतिक वाद वा सिद्धान्त नहेर्न पनि आग्रह गरे।

‘हामीलाई चिनियाँ उक्ति जस्तो–बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पुग्छ’, उनले भने, ‘हाम्रो सरकारको योजना र उद्देश्यसँग तालमेल मिलाउनुपर्‍यो, कर्मचारी जो भए पनि हुन्छ।’ उनले कर्मचारीलाई अनावश्यक र अनुचित काम गर्न दबाब नदिन पनि मन्त्रीलाई निर्देशन गरे।

मुख्यमन्त्री राईले योजना कार्यान्वयन क्रममा मन्त्रीलाई असहयोग नगर्न सचिवलाई आग्रह गरेका छन्।

‘यो वा त्यो कानूनको बाहना गरेर मन्त्रीलाई अलमलाउनु भएन’, उनले भने, ‘टार्ने, पन्छिने र पन्छाउने कामले संशय पैदा गर्छ, जे कुरा हो सचिवले पनि मन्त्रीलाई खुला र पारदर्शी ढङ्गले भन्नुपर्‍यो।’ उनले ऐन, कानूनका कारण गाँठो परेका विषय फुकाउन सरकार तत्पर रहेको उल्लेख गरे। ‘अब जहाँ समस्या पर्छ त्यहाँ कानून बनाउँदै जाने हो’, मुख्यमन्त्री राईले भने।

समीक्षा कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले मन्त्रालय विस्तारपछि जनस्तरबाट आलोचना भएको अवस्थामा अब कार्यसम्पदानबाटै जवाफ दिनुपर्ने बताए।

‘मन्त्रालय र मन्त्री बढाएर खर्च बढाए भन्ने आरोप छ, अब राम्रो कार्यसम्पादन गरेर परिणाममुखी कामबाटै जवाफ दिनुपर्दछ’, उनले भने। कामको प्रकृति र जिम्मेवारीअनुसार मन्त्रालयको बजेट फरकफरक हुनु स्वाभाविक भएको उल्लेख गर्दै उनले प्राप्त बजेट सञ्चालन र खर्च गर्नमा दक्षता वृद्धि हुनुपर्ने आवश्यकता औँल्याए।

उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले कर्मचारीलाई स्थीर सरकारको सङ्ज्ञा दिँदै जाडोमा तराई गर्मीमा पहाड बस्न खोज्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए।

यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेश सरकारको मुख्य राजस्वको स्रोतलाई वृद्धि गर्न यातायात व्यवस्था कार्यालयको काम कारवाहीलाई थप व्यवस्थित गरिने बताए। प्रमुख सचिव डा रामप्रसाद घिमिरेले सरकारको कार्यक्रम र भावनाअनुरुप काम गर्नका लागि आवश्यक तादम्यता मिलाउन सचिवलाई निर्देशन दिए।