राहुल र प्रियंका गान्धी पक्राउ, प्रहरीले गरे लछारपछार - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

राहुल र प्रियंका गान्धी पक्राउ, प्रहरीले गरे लछारपछार



काठमाण्डाै– भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका दुई शीर्ष नेता बिहीबार पक्राउ परेका छन् । पार्टीका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीलाई प्रहरीले यमुना द्रूतमार्ग नजिकैबाट बिहीबार दिउँसो गिरफ्तार गरेको हो ।

गएको सेप्टेम्बर २९ तारिखका दिन सामूहिक बलात्कारपछि हत्या गरिएकीको घर रहेको हाथरसतर्फ गइरहेका बेला उनीहरूलाई पक्राउ गरिएको समाचारमा जनाइएको छ । उनीहरूलाई उत्तर प्रदेशको प्रहरीले नियन्त्रणमा लिएको अधिकारीहरुले जानकारी दिएका छन् । गान्धीद्वयसँगै अन्य केही नेताहरुलाई पनि गौतम बुद्ध नगरबाट पक्राउ गरिएको हो ।

कांग्रेस कार्यकर्ताहरुका अनुसार दिल्ली नोएडा राजमार्गमा र्‍याली गरेर हाथरसतर्फ गइरहेका बेला उनीहरुलाई प्रहरीले अवरोध गरेको थियो । प्रहरीले अवरोध गरेर पक्राउ गरेपछि राहुल गान्धीले आक्रोशित हुँदै प्रश्न गरे, ‘के यो देशमा मोदीजी मात्रै हिँड्न पाउने व्यवस्था छ ?’ उनले भारतमा सामान्य मान्छेहरु हिँड्न पनि नपाएको भन्दै आक्रोश व्यक्त गरे ।

नेता गान्धीले आफूलाई प्रहरीले जबरजस्ती समातेर लाठी चार्ज गरेको, भुइँमा लडाएको र धकेलेको आरोप पनि लगाएका छन् । उनले आफ्ना सवारी साधनहरु रोकिएकाले आफूहरु हिँडेको भन्दै प्रहरीलाई आफूलाई हिँड्न दिन आग्रह गरेका थिए ।

‘म एक्लै हाथरसतर्फ हिँडेर जान चाहन्छु, कृपया मलाई हिँड्न दिनुस्, मलाई नरोक्नुस्, मलाई तपाईँहरुले किन पक्राउ गर्दै हुनुहुन्छ ?’, उनले भनेका थिए । उनको त्यो प्रश्नपछि प्रहरीहरुले उत्तर दिँदै भनेका थिए, ‘सरकारले जारी गरेको आदेश पालना नगरेकाले हामीले तपाईँलाई आईपीपिसीको १८८ अनुसार पक्राउ गर्दैछौँ ।’

नोएडाको अतिरिक्त नायब प्रहरी आयुक्त रणविजय सिंहले कोरोना भाइरसको महामारीका कारण सरकारले महामारी ऐनअनुसारको आदेशहरु जारी गरेको र त्यसलाई उनीहरूले उल्लङ्घन गरेको बताए ।