राहुल गान्धीको चुनाव जित्ने यस्तो फण्डा - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

राहुल गान्धीको चुनाव जित्ने यस्तो फण्डा



एजेन्सी- प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रवाद र राष्ट्रिय सुरक्षालाई मुख्य चुनावी एजेन्डा बनाउँदै आफ्नो कार्यकालमा गरिएका ‘सर्जिकल स्ट्राइक’लाई उपलब्धिका रुपमा मतदातामाझ पस्किरहेका छन्। छिमेकी पाकिस्तानले आतंकवादको संरक्षण गरिरहको आरोप लगाउँदै मोदीले पाकिस्तानमाथि भएका ‘सर्जिकल स्ट्राइक’लाई आफ्नो उपलब्धिका रुपमा अर्थ्याउने गरेका छन्।

सन् २०१४ को चुनावबाट सत्तामा आएका मोदीले सन् २०१६ पाकिस्तानमाथि ‘सर्जिकल स्ट्राइक’ गरेका थिए। र, पछिल्लोपटक पुलवामा हमलापछि पाकिस्तानको बालाकोट हवाई हमला गरेका थिए।

तर, यसपटकको लोकसभा चुनावमा मोदीका मुख्य प्रतिस्पर्धी भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीले भने आफूले गरिबीमाथि ‘सर्जिकल स्ट्राइक’ मुद्दा आफ्नो चुनावी एजेन्डा भएको बताउने गरेका छन्।

शुक्रबार ओडिसाको एक चुनावी सभालाई सम्बोधन गर्दै गान्धीले आफ्नो पार्टीेले ल्याएको ‘न्याय योजना’ गरिबीविरुद्ध ‘सर्जिकल स्ट्राइक’ भएको बताए।

‘न्यूनतम आय योजना अन्तर्गत देशका ५ करोड परिवारलाई वार्षिक २७ हजार भारु दिइनेछ,’ पहिलो पटक ओडिसाको चुनावीसभालाई सम्बोधन गर्दै उनले भने, ‘यो योजना अन्तर्गत विहार, ओडिसा लगायतका गरिब राज्यले फाइदा प्राप्त गर्नेछन्। यो गरिबीविरुद्ध सर्जिकल स्ट्राइक हो।’

यो योजनाले जिएसटीबाट प्रभावित रोजारी सिर्जनामा पनि सहयोग उनले दाबी गरे। आफूले ल्याएको योजनामा उद्योगपतिले लुटेको पैसा फिर्ता गरेर जम्मा गर्ने उनको भनाइ थियो। रोजगारी सिर्जना, किसान मुद्दा र भ्रष्टाचारबारे नबोलेको भन्दै उनले मोदीविरुद्ध कटाक्ष गरे।

‘भाषण गर्न जहाँ जान्छन्, मोदीले टेलिप्रोम्प्टर लैजान्छन्,’ उनले भने, ‘रोजगारीबारे कुरा नगर्न उनले आदेश पाउँछन्। प्रत्येक गरिब भारतीयको खातामा १५ लाख हालिदिने गरेको बाचाबारे कुरै गर्दैनन्।’

पाँच वर्षमा दुई करोड रोजगारी सिर्जना गर्ने बाचा गरेको भए पनि मोदी सरकारको पालामा प्रत्येक २४ घन्टामा २७ हजार रोजगारी गुमिरहको बताए। ‘२२ लाख सरकारी पद खाली छन्,’ गान्धीले भने, ‘कंग्रेस सरकारमा आएमा त्यो खाली ठाउँमा पदपूर्ति गर्छ र पञ्चायत तहमा १० लाख रोजगारी सिर्जना गर्छ।’

किसानको दुर्दशाको कुरा गर्दै उनले कंग्रेस सरकारले कुनै पनि किसानलाई ऋण तिर्न नसकेको मुद्दामा जेल नपठाउने बताए।