राहुल गान्धीले २२ घण्टा काठमाडौमा यसरी बिताए - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

राहुल गान्धीले २२ घण्टा काठमाडौमा यसरी बिताए



भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी २२ घन्टा काठमाडौंमा रहेर तिब्बतको ल्हासा प्रस्थान गरेका छन् । शुक्रबार काठमाडौं आएका गान्धी शनिबार दिउँसो ल्हासा प्रस्थान गरेका हुन्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको साधारण प्रवेशबाट अध्यागमन चेकजाँच गराएका उनी एयर चाइनाको नियमित उडानबाट ल्हासा उडेका हुन् । नितान्त धार्मिक भ्रमणमा आएका उनी आएर तिब्बत गएको धेरैले थाहा पाएनन् ।

उनी नेपालगन्जबाट हिल्सा हुँदै ल्हासा जाने चर्चा चलेको थियो । त्यसैले शनिबार बिहान नेपालगन्जमा सञ्चारकर्मी राहुलको तस्बिर खिच्न प्रतीक्षारत थिए । काठमाडौंस्थित डोमेस्टिक एयरपोर्टमा पनि बिहानैदेखि फोटो पत्रकार कुरिरहेका थिए । बिहान १० बजेतिर प्रहरी स्रोतबाट जानकारी आयो, राहुल सीधै ल्हासा जाने भए । त्यसपछि पत्ता लाग्यो, राहुल एयर चाइनाको दिउँसोको उडानबाट ल्हासा हुँदै मानसरोवर जानेछन् । सुरक्षासम्बद्ध स्रोतका अनुसार गान्धीको यो पूर्वनिर्धारित कार्यक्रम हो । उनको इच्छाअनुसार रुट गोप्य राखिएको हो । उनी आउनुअघि भारतको स्पेसल प्रोटेक्सन ग्रुप (एसपिजी)ले सुरक्षाजाँच गरिसकेको थियो ।

गान्धीले शुक्रबार साँझ लाजिम्पाटस्थित एक रेस्टुरेन्टमा नेवारी खाजा खाएका थिए । काठमाडौंका एक रैथाने मित्रसँग उनले खाजा खाएका थिए । शुक्रबार राति उनी काठमाडौंका एक स्थानीय मारवाडी व्यवसायीसँग बौद्धनाथ स्तुपा घुमघाम गरेका थिए ।

उनी राति पाटन र स्वयम्भू पनि पुगेका थिए । बौद्ध स्तुपामा गान्धीले आफ्ना साथी र परिवारसँग तस्बिर खिचाएका थिए । बौद्धको एउटा रेस्टुरेन्टमा मारवाडी परिवारसँगै बसेर उनले पिज्जा खाएको प्रहरी स्रोतले बतायो । तर, हिँडिसकेपछि मात्रै होटेलवालाले राहुल गान्धी हुन् भन्ने थाहा पाएका थिए ।