राहुल गान्धीले समय दिए तर भेट दिएनन - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

राहुल गान्धीले समय दिए तर भेट दिएनन



एजेन्सी -लोकसभा चुनावमा बेहोरेको पराजयपछि भारतीय कांग्रेसमा त्यसको जिम्मेवारी लिने र दोष देखाउने क्रम जारी छ ।

अध्यक्ष राहुल गान्धीले पराजयको जिम्मा लिँदै पार्टीको शक्तिशाली वर्किङ्ग कमिटिको बैठकमा पदबाट राजीनामाका लागि प्रस्ताव गरेका थिए । तर उनको सो प्रस्ताव नेताहरुले अस्वीकार गरे ।

तत्कालका लागि राहुल गान्धी नै कांग्रेसको नेतृत्वमा रहने देखिएको छ । अध्यक्ष गान्धीले सोही बैठकको क्रममा केही वरिष्ठ नेताहरुले पार्टी भन्दा आफ्ना छोराहरुको हितलाई प्राथमिकता दिएको बताएका थिए ।

उनले नामै लिएर राजस्थानका मुख्यमन्त्री अशोक गहलोत, मध्य प्रदेशका मुख्यमन्त्री कमलनाथ र नेता पी चदम्बरमलाई यस्तो आरोप लगाएका थिए ।

केही महिनाअघि राज्यको सत्तामा आएको कांग्रेस राजस्थानका सबै २५ लोकसभा सिटमा पराजित भयो । जसमा गहलोतका पुत्र पनि परे । तर पुत्र मोहको आरोप लागेका गहलोतमाथि त्यसपछि उनको मन्त्रीमण्डलका केही मन्त्री पनि खनिए ।

पछिल्लो घटनाक्रममा अध्यक्ष राहुल गान्धीले गहलोतसँग भेट्न अस्वीकार गरेका छन् । दैनिक भास्करमा छापिएको खबर अनुसार राहुल गान्धीले सोमबार गहलोतसँग भेट्न अस्वीकार गरेका हुन्।

उनले गहलोतलाई समय दिएका थिए तर पछि भेट्न अस्वीकार गरेको खबरमा उल्लेख छ । लोकसभा चुनावमा कांग्रेसले मात्रै ५२ सिट जितेको छ ।