खाल्टा पुर्न सडकमा उत्रिए रघुबीर महासेठ
काठमाण्डुका सडकको खाल्डाखुल्डी पुर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ आफैं लागेका छन् । सडक विभाग र कर्मचारीहरुलाई बारम्बार निर्देशन दिए पनि काम हुन नसकेपछि मन्त्री महासेठ आजबाट आफै खाल्डाखुल्डी पुर्न लागेका हुन् ।
मन्त्री महासेठले सातदोबाटोदेखि खुमलटारको बाटोमा खाल्डो पुर्न काम सुरु गरेका छन् । मन्त्री पुगेपछि कर्मचारीहरुले धमाधम काम अगाडि बढाएका छन् ।
‘सडक विभागलाई बारम्बार निर्देशन दिँदासमेत समयमा काम पुरा भएको देखिएन। केही स्थानमा काम भएपनि द्रुत गतिमा हुन सकेन । आजबाट खाल्डाखुल्डी भएको क्षेत्रमा पुगेर काम अगाडि बढाउँदैछु’, फिल्डमा पुगेका मन्त्री महासेठले भने ।
मन्त्री महासेठले अब नियमित अनुगमन गर्ने र ढिलासुस्ती गर्नेलाई कारवाही गर्ने चेतावनीसमेत दिए ।