पशुपतिमा पुग्ने सबै तानाशाह सकिए अब पालो ओलीको हो: रघुजी पन्त - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

पशुपतिमा पुग्ने सबै तानाशाह सकिए अब पालो ओलीको हो: रघुजी पन्त



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समुहका नेता रघुजी पन्तले पशुपतिनाथको शरणमा पुगेका प्रधानमन्त्री ओलीको चर्को विरोध गरेका छन् । पशुपतिनातामा पुगेका सबै तानाशाहहरू सकिएको पन्तले बताएका छन्

प्रधानमन्त्री ओलीले पशुपतिमा पूजाआजा गरेको विषयलाई लिएर उनले कडा प्रहार गरेका छन् । उनले नबोल्ने पशुपतिनाथलाई होइन बोल्ने पशुपतिनाथलाई खुशी बनाउन सुझाव दिए ।

नेता रघुजी पन्तले प्रधानमन्त्री ओलीले झुटसमेत स्थिर रुपमा बोल्न नसक्ने गरेको बताए । उनले एउटै भाषणमा ओलीले आफ्ना कुराको खण्डन गर्ने गरेको भन्दै उनका झुट पनि बिक्न छाडेको बताए ।

उनले ओलीलाई नबोल्ने पशुपतिनाथलाई होइन बोल्ने पशुपतिनाथहरुलाई खुसी पार्न सुझावसमेत दिए ।

“म ओलीको आलोचना गर्दिनँ, किन भने अस्ति ओलीले नारायणहिटीको दक्षिण गेटमा आँसु झार्नुभयो, अझै आलोचना गरे पश्चिम गेटतिर गएर आँसु झार्नुहोला,” पन्तले भने, “ओलीजी कुरा नफेर्नुस् जनताले तपाईंको झुट बुझिसके । नारायणहिटी गेटमा उभिएर अस्ति भन्नुभयो । यो सरकार बनेपछि जस्तो विकास कहिल्यै भएको थिएन । अनि फेरि भन्नुभयो मलाई प्रचण्ड-माधव नेपाल र अरुले हात खुट्टा बाँधेर काम गर्ने दिएनन् ।”

उनले प्रतिनिधिसभा विघटन गरेर रुद्राक्षको माला लाएर पशुपति जाँदैमा सत्ताको रक्षा नहुने चेतावनी दिए । “प्रतिनिधिसभा विघटन गरेपछि रुद्राक्षको माला लगाएर पशुपति जानुभयो । ओलीजीले के माग्नुभयो थाहा छैन । तर ३० करोडको सुनको जलप लगाउने घोषणा गर्नुभएको छ,” पन्तले भने, “म यतिबेला राजा वीरेन्द्रलाई सम्झन्छु । उनले सधैं बोलिसकेपछि भन्ने गर्थे श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् । सधैं पशुपतिनाथसँग गुहार माग्ने राजा वीरेन्द्रको वंशनाश भयो । तपाईंलाई कसले जोगाउँछ होला ?”

पार्टीद्वारा राजधानीमा आयोजित विरोधसभामा पन्तले भने, ‘राजा वीरन्द्रले सधैँ पशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्ने गर्थे । तर, उनको वंश नाश भयो । राजा ज्ञानेन्द्रले पनि त्यही भन्ने गर्थे । उनी नारायणहिटीबाट नागार्जुन लखेटिए । अब ओलीजीलाई पशुपतिले के कृपा गर्ने हो हेर्न बाँकी छ ।’