बोक्सीको आरोपमा राधालाई कुट्ने किस्मती पनि पक्राउ
धनगढी, फागुन २७
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ देउकलियाकी राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गर्ने मध्येकी एक किस्मिता चौधरी पक्राउ परेकी छिन । जिल्ला प्रहरी कार्यालय कैलालीले उनलाई आज बिहान उनकै घरबाट पक्राउ गरेको हो ।
उनले भोलेबाबा भनिने रामबहादुर चौधरीसँग मिलेर राधालाई कुटपिट गरेकी थिइन् । रामबहादुर शुक्रवार नै पक्राउ परिसकेका छन् । उनीहरूलाई साथ दिने अरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
भोलेबाबाकी सहायिका दाबी गर्ने किस्मिता आफूलाई ‘पार्वतीमाता’ बताउँथिन । सुरुमा राधामाथि किस्मिताले नै कुटपिट गरेकी थिइन् उनले नै राधालाई घरबाट हात समातेर ल्याएकी थिइन् ।
गत बिहीबार ’बोक्सी’ भगाउन भन्दै ६ घण्टासम्म राधामाथि कुटपिट भएको थियो । राधाको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।