रविन्द्रलाई निर्दोष फैसला गर्ने अधिकार ओलीलाई कसले दियो : कोइराला
काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वाइडबडी खरिद प्रकरणमा रविन्द्र अधिकारी निर्दोष छन् भन्ने अभिव्यक्ति दिएर प्रधानमन्त्रीले सर्बसत्तावादी शासन व्यवस्थाको झल्को दिएको बताएका छन् ।
‘रविन्द्र अधिकारीको अन्त्यष्टी नहुँदै उनी निर्दोषी भनेर फैसला गर्ने प्रम न्यायधिस हो ? त्यो अधिकार उहाँलाई कसले दियो ?’ प्रजातन्त्रवादी प्राध्यापक संघले गण्डकी प्रदेशले शुक्रबार गरेको कार्यक्रममा उनले भने, ‘चाहे जतिसुकै ठूला नेता हुन् वाइडबडी, बुडीगण्डकी अथवा एनसेल प्रकरणमा दोषी छ भने कानूनी कठघरामा ल्याइनुपर्छ । पदमा बसेकोले जथाभावी जे मन लाग्यो बोल्दै हिंड्न मिल्दैन ।’
पोखरामा भएको ‘समसामयिक राजनीतिमा देखापरेका जटिलता र निराकारणका उपाय’ बिषयक अन्तरक्रियालाई सम्बोधन गर्दै डा. कोइरालाले समयमै पार्टीको १४औं महाअधिवेशन गरिनुपर्ने बताए । महाधिवेशन गर्न जती ढिला गर्यो त्यती पार्टी कमजोर हुने उनको भनाइ छ ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले विधानअनुसार हिंड्न नसकेकाले पार्टी संकटमा पुगेको बताए । घिमिरेले ३२ बर्षे उमेर हद लगाएर नेविसंघको केन्द्रीय समिति बनाइनुपर्ने धारणा राखे ।
कार्यक्रममा कांग्रेस पूर्वआमन्त्रित केन्द्रीय सदस्य शुक्रराज शर्मा, पूर्वमन्त्री यज्ञबहादुर थापा, सांसद लालकाजी गुरुङ, कास्की कांग्रेसका नेताहरू देवराज चालिशे, सोभियतबहादर अधिकारी, शारदा पौडेल, सुदिपमोहन भट्टराई, प्रा.डा. कुश्माकर न्यौपाने लगायतले बोलेका थिए ।