रवीन्द्र मिश्र समूहले दियो मिलन पाण्डे समूहलाई चेतावनी
काठमाडौं – विवेकशील साझा पार्टीको संस्थापन पक्षको केन्द्रीय समिति बैठकले पार्टी हित विपरितका क्रियाकलापसहित समानान्तर गतिविधि सञ्चालन गर्ने केन्द्रीय सदस्यहरुलाई त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको छ।
आज सम्पन्न भर्चुअल बैठकपछि पार्टी प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गरी त्यस्ता गतिविधि नरोकिए केन्द्रीय समितिले कारबाही गर्ने चेतावनीसमेत दिइएको छ।
सामाजिक सञ्जालमा पार्टी नेतृत्वविरुद्ध अमर्यादित र अपमानजनक टिकाटिप्पणी गर्ने सदस्यहरु अब कारबाहीको भागीदार हुने विज्ञप्तिमा उल्लेख गरिएको छ। बैठकले अबको एक साताभित्र अर्को बैठक आह्वान गर्ने र त्यसमा असन्तुष्ट सदस्यहरुलाई पनि सामेल गर्न यथासक्य प्रयास गर्ने निर्णय गरेको छ।
साथै, बैठकले केन्द्रीय समिति बैठक सञ्चालन कार्यविधिको मस्यौदा केन्द्रीय समितिको आगामी बैठकमा अध्यक्ष रवीन्द्र मिश्रले पेस गर्ने निर्णयसमेत गरेको विज्ञप्तिमा जनाइएको छ।
प्रेस विज्ञप्ति
विवेकशील साझा केन्द्रीय समिति बैठकका निर्णयहरू
विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठक अध्यक्ष रवीन्द्र मिश्रको अध्यक्षतामा आज मिति २०७८ भदौ १७ गते बिहीबार बस्यो। उक्त भर्चुअल बैठकमा १३० जना कूल केन्द्रीय सदस्यमध्ये १ सय ३ जनाको सहभागिता थियो।
बैठकले निम्न निर्णयहरू गरेको छ।
१. अवैध र समानान्तर गतिविधि सञ्चालन गर्दै पार्टी हित विपरीतका क्रियाकलापमा संलग्न केन्द्रीय सदस्यहरूलाई त्यस्ता गतिविधि तत्काल रोक्न बैठकले कडा निर्देशन दिएको छ। त्यस्ता कदम तत्काल नरोकिए केन्द्रीय समितिले आवश्यक कारबाही गर्ने निर्णय गरेको छ।
त्यस्तै, सामाजिक सञ्जालमा पार्टी र पार्टी नेतृत्वविरुद्ध अमर्यादित, अपमानजनक र पार्टीलाई घात गर्ने खालका टीकाटिप्पणी गर्ने केन्द्रीय सदस्यहरूलाई पनि त्यस्तो नगर्न सचेत गराउँदै, आइन्दा त्यसो गरेको खण्डमा पार्टीले कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
२. पार्टीको केन्द्रीय समितिको अर्को बैठकमा असन्तुष्ट सदस्यहरूलाई पनि सामेल गराउन यथाशक्य प्रयास गर्दै अबको एक साताभित्र अध्यक्षले अर्को बैठक आह्वान गर्ने निर्णय गरेको छ।
३. बैठकले केन्द्रीय समिति बैठक सञ्चालन कार्यविधिको मस्यौदा केन्द्रीय समितिको आगामी बैठकमा अध्यक्ष रवीन्द्र मिश्रले पेस गर्ने निर्णय पनि गरेको छ।
शरदराज पाठक
प्रवक्ता, विवेकशील साझा पार्टी
१७ भदौ २०७८