रवीन्द्रका प्रतिद्वन्द्वीले भने : कास्कीमा रवीन्द्रको विकल्प छैन
काठमाडौं- गतवर्ष भएको प्रतिनिधि सभा निर्वाचनमा रविन्द्र अधिकारीसँग पराजित भएका नेपाली कांग्रेसका उम्मेद्वार देवराज चालिसेले अधिकारीजस्तो नेता पाउन मुस्किल रहेको बताएका छन्। नेपाल लाइभसँग संक्षिप्त प्रतिक्रिया दिँदै चालिसेले यस्तो बताएका हुन्।
पृथ्वी नारायण क्याम्पस पोखरामा रवीन्द्र अधिकारीले विद्यार्थी राजनीति गर्दा देवराज चालिसेले प्राध्यापन गर्दथे। विद्यार्थी राजनीतिबाट केन्द्रीय राजनीतिमा प्रवेश पाएका अधिकारीले गत निर्वाचनमा पृथ्वी नारायण क्याम्पसका आफ्नै गुरुसँग प्रतिस्पर्धा गरेका थिए।
गुरु र चेलाको सम्वन्ध दुई फरक पार्टी हुँदै चुनावी प्रतिस्पर्धामा पुगेको थियो। वामगठबन्धनबाट अधिकारी उम्मेदवार बनेका थिए भने कांग्रेसले चालिसेलाई चुनावी मैदानमा उतारेको थियो।कास्की २ बाट चेला अधिकारी विजयी भए। गुरु चालिसे पराजित भए। अधिकारीसँग प्रतिस्पर्धा गर्नकै लागि चालिसेले १७ वर्षे प्राध्यापन पेसा त्यागेका थिए।
हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका अधिकारीलाई उनका प्रतिस्पर्धी चालिसेले दुरदर्शी नेताका रुपमा स्मरण गर्छन्। काँग्रेसका निष्ठावान र बौद्धिक व्यक्ति रुपमा परिचित चालिसे भन्छन् ‘हामी चुनावमा पार्टी÷पार्टी विच प्रतिस्पर्धा गर्र्यौ। व्यक्तिगत प्रतिस्पर्धा गरेनौं।’ पार्टी फरक भएपनि व्यक्तिगत सम्वन्ध सधैं हार्दिक रहेको चालिसेले स्मरण गरे।
प्रतिस्पर्धा चुनावमा रहेपनि प्रतिद्धन्द्धता नरहेको उनले बताए। अल्पायुमा निधन भएका अधिकारीसँग सधैं मित्रवत सम्वन्ध रहेको चालिसेले बताए। उनले भने ‘मित्रवत प्रतिस्पर्धाले सकरात्मक संस्कारको विकास गर्यो।’ राजनीति बुझेको व्यक्तिमा हार्दिकता र सरलता हुने बताँउदै चालिसेले ती गुण अधिकारीमा रहेको बताए।
चुनावी प्रतिस्पर्धाका क्रममा कतिपय उम्मेदवारले एक अर्काले आक्षेप लगाउने गलत परम्परा प्रचलनमा छ। त्यस्तो चालिसे र अधिकारीका विचमा देखियो? चालिसे भन्छन् ‘अहँ हामी विच सौहार्द प्रतिस्पर्धा भयो। गाली गलौज र तथ्यहिन आरोप प्रत्यारोप भएन।’ चुनावी प्रतिस्पर्धाका क्रममा कुनै कटुता नभएको उनले स्मरण गरे।
प्रचारप्रसारकै क्रममा अधिकारीसँग पटकौं भेट भएको उनीसँग सम्झना छ। दुई प्रतिस्पर्धीले फेवातालबाटै सञ्चारमाध्यमलाई सँगै अन्तरवार्ता दिएका थिए। स्थानीय एफएम र टेलिभिजनमा दुबैको एकसाथ अन्तवार्ता दिएको चालिसेले बताए। घरदैलो अभियानमा पनि दुई प्रतिस्पर्धीको दर्जनौं भेट भएको चालिसे सम्झन्छन्।
चुनावी प्रतिस्पर्धी भएपनि चुनाव सकिएसँगै मित्रवत् व्यवहार उतिकै भएको चालिसेले बताए। अधिकारी मन्त्री भइसकेपछि विकासका कार्यमा आवश्यक छलफल हुने गरेको उनले बताए। उनले भने ‘समग्र पोखराको विकासको बारेमा हाम्रो ‘कमन धारणा’ थियो। पार्टी भन्दा माथि उठ्नुपर्छ ,कास्की बनाउनुपर्छ भन्ने थियो।’
राजनीतिशास्त्रका प्राध्यापक चालिसेले अधिकारीकै उचाईको नेता कास्कीले प्राप्त गर्न समय लाग्ने बताए। अधिकारीको निधन राष्ट्र र कास्की जिल्लाको लागि अपूरणीय क्षति भएको उनले बताए।
गत प्रतिनिधि सभाको निर्वाचनमा कास्की २ बाट अधिकारीले २७ हजार २०७ मत प्राप्त गरी विजयी भएका थिए। उनका प्रतिस्पर्धी चालिसेले १८ हजार ६६१ मत पाएका थिए।