कतारमा तलब नपाएपछि अदालत धाउँदै नेपाली - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

कतारमा तलब नपाएपछि अदालत धाउँदै नेपाली



कतारस्थित डिजाइन कन्स्ट्रक्टिङ कम्पनीमा कार्यरत १ सय २० जना नेपाली तलब माग्दै उच्च अदालत धाइरहेका छन्।

कतारको श्रम विभाग र नेपाली दूतावास, कम्पनी र कामदारबीच श्रम विवाद नमिलेपछि कामदारहरू उच्च अदालत धाउन बाध्य हुनुपरेको हो।

‘हामी श्रम अदालत र दूतावासमा पनि गयौं । दुवै ठाउँबाट हाम्रो समस्या समाधान हुन सकेन,’ पीडित दिल श्रेष्ठले कान्तिपुरलाई फोनमा भने, ‘कम्पनीले तलब र उपदान दिएकै छैन।’
कम्पनीले गत नोभेम्बरदेखि तलब नदिएको खबर आजको कान्तिपुरमा होम कार्कीले लेखेका छन्।

तलब नपाएपछि उनीहरूले गत फेब्रुअरीदेखि काम गर्न छाडेका छन्। कतार सरकारले कामदारको तलब सुनिश्चित गर्न बैंकबाट अनिवार्य तलब दिनुपर्ने व्यवस्था गरेको थियो।
नयाँ कम्पनी मालिकले तलब दिन नसकेपछि समस्या सुरु भएको पीडितले बताए।

‘पुरानो मालिकले राम्र्रैसँग चलाइरहेको थियो। उसले कम्पनी बेचेर हिँडिदियो । नयाँले चलाउनै सकेन,’ उनले भने, ‘अहिले धेरै जनासँग भिसा छैन। गैरकानुनी हैसियतमा बस्नुपरेको छ । कति बेला प्रहरीको पक्राउमा परिन्छ भन्ने डर छ।’

उनीहरूले आफूहरू यथाशक्य छिटो फिर्ता हुनुपर्नेमा अदालती मुद्दामामिलामा अल्झेर तनाव बेहोर्नुपरेको बताए ।

‘हामीले काम गरेबापत तलब र उपदान दिएर पठाऊ भन्दा अदालत धाउनुपर्‍यो । दैनिक खाना जोहो गर्न हामीलाई कठिन छ,’ उनले भने, ‘कहिलेसम्म यसरी मुद्दा धाउनुपर्ने हो?’