पूर्वराजा र भारतीय राजदूतबीच 'गोप्य भेट' : के भयो कुरा ? - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

पूर्वराजा र भारतीय राजदूतबीच ‘गोप्य भेट’ : के भयो कुरा ?



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीबीच आकस्मिक भेटवार्ता भएको छ । तराई भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र र राजदूत पुरीबीच गत २ चैत (शनिबार) मा जनकपुरको शीताशरण होटलमा गोप्य भेटवार्ता भएको उच्च सरकारी स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार दुई जनाबीच राति १०ः४५ बजेदेखि ११ः३० बजेसम्म गोप्य भेटवार्ता भएको थियो । झन्डै पौने घण्टासम्म भएको भेटघाटमा पूर्वराजा ज्ञानेन्द्रको भारत भ्रमणबारे छलफल भएको स्रोतको दाबी छ ।

पूर्वराजा ज्ञानेन्द्र जनकपुरको जानकी मन्दिरमा पूजाआजा गर्न तथा अन्य विभिन्न धार्मिक कार्यक्रमका लागि गत २९ फागुनमा जनकपुर पुगेका थिए । पूर्वराजा ज्ञानेन्द्र जनकपुरमै भएका बेला भारतीय राजदूत पुरी पनि रेलमार्गको निरीक्षण गर्ने सिलसिलामा २ चैतमा जनकपुर पुगेका थिए । उनीहरू दुवै जना जनकपुरको शीताशरण होटमा बसेका थिए । ‘एउटै होटलमा बसेकाले आकस्मिक भेट भएको हुन सक्छ,’ स्रोतले भन्यो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राजदूत पुरीले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेको बारेमा परराष्ट्र मन्त्रालयसँग जानकारी मागेको छ । प्रधानमन्त्री कार्यालयले परराष्ट्र सचिवसँग भेटबारे जानकारी मागेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

राजदूतले उच्चपदस्थहरूलाई भेट्दा परराष्ट्र मन्त्रालयको स्वीकृति लिएर मात्रै भेट्नुपर्ने कानुनी प्रावधान छ । पूर्वराजा ज्ञानेन्द्रसँग राजदूत पुरीले भेट गर्दा परराष्ट्र मन्त्रालयसँग स्वीकृति लिए नलिएको बारेमा प्रधानमन्त्री कार्यालयले जानकारी मागेको हो । परराष्ट्र मन्त्रालयले भने यस सम्बन्धमा प्रधानमन्त्री कार्यालयलाई कुनै जानकारी दिएको छैन ।

पूर्वराजा ज्ञानेन्द्र राजदूत पुरीसँग भेट गरी भोलिपल्ट ३ चैतमा सप्तरी हुँदै काठमाडौं फर्केका थिए । राजदूत पुरी पनि ३ चैतमै जनकपुरबाटै काठमाडौं फर्केका थिए ।