पूर्वमण्डलेले नेपाली कांग्रेसलाई राष्ट्रियता कसरी जोगाउने भनेर सिकाउनु पर्दैन :थापा - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

पूर्वमण्डलेले नेपाली कांग्रेसलाई राष्ट्रियता कसरी जोगाउने भनेर सिकाउनु पर्दैन :थापा



काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले राप्रपाका अध्यक्ष कमल थापालाई नेपालको राष्ट्रियताका बारेमा कांग्रेसलाई नसिकाउन सचेत गराएका छन् ।

४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर सोमबार कांग्रेस काठमाडौंले आयोजना गरेको कार्यक्रममा युवा नेता थापाले कमल थापालाई मण्डलेको संज्ञा दिँदै कांग्रेसलाई मुलुकको राष्ट्रियताका बारेमा नसिकाउन सचेत गराएका हुन् ।

वि.सं. २०३३ साल पुस १६ गते कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्किएको दिनको सम्झनामा राप्रपाले मेलमिलाप दिवस मनाएर कांग्रेसलाई गिज्याएको उनले दाबी गरे । ‘‘आज अर्को मञ्चमा कमल थापाले राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै छन् । त्यो कांग्रेसलाई गिज्याएको हो,’’ कांग्रेस नेता थापाले राप्रपाले मनाइरहेको मेलमिलाप दिवसप्रति आपत्ति जनाउँदै भने, ‘‘कुनै पूर्वमण्डलेले नेपाली कांग्रेसलाई नेपालको राष्ट्रियता जोगाउने कसरी भनेर सिकाउनु पर्दैन ।’

कांग्रेसका संस्थापन नेता वीपी कोइरालाले जीवनभर मण्डले प्रवृतिसँग जुध्नु परेको स्मरण गर्दै नेता थापाले भने, ‘‘जसको पार्टीको नेता जीवनपर्यन्त त्यही मण्डले प्रवृत्तिसँग जुध्नु पर्यो । जसको कारणले पार्टीका कैयन नेताहरुले आफ्नो यौवन जेलमा बिताउनु पर्यो । जसका कारणले गर्दा आज पार्टीले ऐतिहासिक अवसर गुमाउनु पर्यो, त्यही पात्र र प्रवृत्ति हाम्रा बीचका वैचारिक अलमलहरुको कारणले गर्दा कहिलेकाहीँ हामीहरुलाई अलमल्याउने काम गर्छन् ।’