पुराना कार्यकर्तासँग प्रचण्डले साटे दुःख–सुख - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

पुराना कार्यकर्तासँग प्रचण्डले साटे दुःख–सुख



रत्ननगरः नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले चितवनका पुराना कम्युनिष्ट नेता भुवानीप्रसाद पौडेलसँग भेटघाट गरी स्वास्थ्यलाभको कामना गरेका छन्।

चार महिनादेखि अन्न नलीको क्यान्सर भएर स्वास्थ्योपचार गरिरहेका भरतपुर नगरपालिका–१० स्थित सिर्जनाचोकमा बस्दै आएका ७० वर्षीय पौडेललाई आज भेटघाट गरी अध्यक्ष दाहालले सरकारी सहयोगका लागि आवश्यक पहल गर्ने आश्वासन दिए। विसं २०३४ मा नेकपाको सदस्यता लिनुभएका पौडेललाई २०३६÷३७ सालतिर दाहालले नै संगठित गरेका थिए।

नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन)का संस्थापक सदस्य पौडेल पूर्वगाविस अध्यक्ष र दिवाकर बालग्राम माडीका संस्थापक सदस्य हुन्। विसं २०४७ को पार्टी एकीकरणपछि उहाँ संयुक्त जनमोर्चाको जिल्ला सल्लाहकार रहेका छोरा टुकनारायण पौडेलले जानकारी दिए। आज भेटघाटका क्रममा उनीहरुले विगतका राजनीतिक अभियानका दुःखसुख साटेको छोरा टुकनारायणले जानकारी दिए।

“राजनीतिक अभियानका क्रममा गाएका गीत बुबाले सम्झाउनुभयो, अध्यक्ष दाहालले पनि साइकल चढेर माडी पुगेको अनुभव स्मरण गर्नुभयो”, टुकनारायणले भने। उनले तीन अंशमध्ये जेठो छोरा सन्देश पौडेलको अंश पार्टीलाई दिइएको थियो। चार महिनादेखि भारतको राजीवगान्धी अस्पताल र चितवनको क्यान्सर अस्पतालमा उपचार भएपछि केही स्वास्थ्यमा सुधार भएकाले अहिले उनी घरमै आराम गरिरहेका छन्। यसैबीच शनिबार चितवन आएका अध्यक्ष दाहाल पार्टी कार्यकर्ता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिसँग विकास निर्माण र राष्ट्रिय राजनीतिका विषयमा छलफल तथा आन्तरिक कार्यक्रममा सहभागी छन्।